पुस २१ काठमाडौ, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले सञ्चालन गर्दै आइरहेको स्नातकोत्तर तह दुई वर्षे कार्यक्रमको ट्रान्सक्रिप्ट नपाउँदा विद्यार्थीहरु समस्यामा परेका छन् ।
संस्थानले विषय कोडसहितको ट्रान्सक्रिप्टको नयाँ फर्म्याट पास गराउन आलटाल गरिरहेको विद्यार्थीहरुको आरोप छ । आफूहरुले पटक–पटक अध्ययन संस्थानको डीन र सहायक डीनसमक्ष आग्रह गर्दा पनि समयमा बैठक नबस्ने, बैठकका निर्णय त्रिभुवन विश्वविद्यालय र परीक्षा नियन्त्रण कार्यालयमा नपठाउने गरेको आरोप पनि विद्यार्थीहरुले लगाएका छन् ।
नतिजा प्रकाशित भएको ५ महिना बितिसक्दा पनि ट्रान्सक्रिप्ट नपाएपछि लोकसेवा आयोगको उपसचिव स्तरको परीक्षालगायत अन्य ठाउँहरुमा पनि आफूहरु जान नपाएको विद्यार्थीहरुको गुनासो छ ।
इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन शशीधर राम जोशीले यो समस्या छिट्टै हल हुने दाबी गरेका छन् । जोशीले भने, ‘परीक्षा नियन्त्रण कार्यालय बल्खुले अहिले नयाँ सफ्टवेयर निर्माण गरेको र त्यहाँ प्राविधिक समस्या देखिएकोले ढिलाइ भएको हो ।’
यो समस्या अबको २/३ दिन भित्रमा हल हुने पनि उनको दाबी छ । नतिजा प्रकाशित भएको पाँच महिना बित्दा पनि किन ट्रान्सिक्रिप्ट दिन ढिला भएको भन्ने हाम्रो जिज्ञासामा उनले कोभिड १९ को कारण देखाए ।
गएको शुक्रबार थापाथली क्याम्पसबाट २ वर्षे स्नातकोत्तर गरेका विद्यार्थीहरुले सामुहिक मेसेजमार्फत उपकुलपतिसमक्ष प्रश्न गर्दा समस्याको समाधान भइसकेको जनाए पनि अहिले समस्या उस्तै पाएपछि विद्यार्थीहरु आक्रोशित भइरहेका छन् ।
उनीहरुले यही अवस्था रहिरहे आफूहरु चुप लागेर नबस्ने चेतावनीसमेत दिएका छन् ।