images

क्यापिटल हिलमा देखिएको अमेरिकाको ‘सक्कली अनुहार’

क्यापिटल हिलमा देखिएको अमेरिकाको ‘सक्कली अनुहार’

  • 910
    SHARES
  • क्यापिटल हिलमा देखिएको अमेरिकाको ‘सक्कली अनुहार’

     – रोहेज खतिवडा – 

    images

    बुधबार राती र बिहीबार बिहान अमेरिकाको संसद भवनमा जे भयो, त्यसले दुनियाँलाई चकित तुल्याइदियो। संसारलाई लोकतन्त्रको पाठ सिकाउन व्यस्त अमेरिकाकै नाभीमा यो चर्चिकला होला भनेर दुनियाँले कल्पना गरेको थिएन। कतिपय अमेरिकीहरु आफैंचाहिँ ‘अमेरिकामै तेस्रो विश्व’मा जस्तो चर्तिकला हुन थाल्यो भनेर चिन्तित थिए। कतिपय नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ता पनि अमेरिकाले पनि नेपालबाट सिक्यो भनेर आफ्नै ढंगको गर्वमा देखिन्थे। तर अमेरिकाकै सिएनएन लगायत विभिन्न सञ्चारमाध्यम र विश्वभरिबाट यो घटनालाई तेस्रो विश्वसँग गरिएको तुलनाप्रति खेद व्यक्त भयो। 


    त्यही साँझ ‘प्रोग्रेसिभ इन्टरनेसनल’ले निकालेको ‘घर फर्कियो नरसंहार’ शीर्षकको वक्तव्यले भन्छ, ‘जनवरी ६को राती उग्रदक्षिणपन्थी प्रदर्शनकारी जब अमेरिकाको संसद भवनमा प्रवेश गर्न थाले, राष्ट्रपति निर्वाचित जो वाइडनले संसारलाई आश्वस्त पार्न खोजे: हामी यस्तो छैनौं। तर, संसारभरिका दशौं लाख मानिसहरुसामु यो घटनाले अमेरिकाको सक्कली अनुहार प्रस्तुत गरेको छ।’ 


    क्यापिटल हिलको भवनमा जसरी श्वेत अमेरिकी आक्रोश पोखियो, यो अमेरिकाले अरु कसैबाट\कतैबाट सिकेको होइन । ‘प्रोग्रेसिभ इन्टरनेसनल’को वक्तव्यले भनेजस्तै यो अमेरिकाको सक्कली अनुहार हो। प्रजातन्त्र र खुला समाजको लाली पाउडर लाएर दुनियाँसामु चिटिक्क देखिने अमेरिका भित्र भीडको शासनको निर्मित थियो। यहाँको रंगभेदमा आधारित जातिय समाज यही उग्र भीडको बलमा बनेको थियो। जसले संसारलाई ‘मोब लिन्चिङ’ जस्तो क्रुर अपराध सिकायो। 


    पुलिट्जर बिजेता इसाबेल विल्करसन् अमेरिकालाई एउटा बुढो घरको उपमा दिन्छिन्, जसको तहखानामा कोही पनि छिर्न चाहँदैन। यो घरको सबैभन्दा तल्लो तला, जो जमिनको सतहभन्दा मुनि छ, त्यहाँको कथा डरलाग्दो र अँध्यारो छ। आफ्नो पुस्तक ‘कास्ट: द लाइज द्याट डिभाइडेड अस’मा उनले अमेरिकी समाजको वास्तविक चरित्रको सग्लो चित्र दिएकी छिन्। भीडतन्त्र वास्तवमा अमेरिकी आविष्कार थियो। यो अमेरिकी समाजको कुरुप मौलिकता हो। यो कुरूप मौलिकता अमेरिकाले कसरी आविष्कार गर्‍यो ? भीडतन्त्रको सुरुवात अमेरिकी आदिवासीमाथि उनीहरुको क्रुरताबाट हुन्छ। यसको आकार अफ्रिकी अमेरिकीप्रति उनीहरुको दृष्टिकोण र व्यहारबाट निर्माण हुन्छ। 


    जब क्रिस्टोफर कोलम्बसले युरोपेलीहरुलाई ‘नयाँ संसार’मा जाने बाटो देखाइदिए, युरोपियनहरुले आफूसँगै रोगका विषाणु बोकेर गए। नवआगन्तुकबाट फैलिएका महामारीले कयौं अमेरिकी आदिवासीको ज्यान गयो। तर, नवआगन्तुक आप्रवासीहरु यतिमा सन्तुष्ट भएनन्, उनीहरुले दशौं लाख आदिवासीको शिकार खेलेर हत्या गरे। खानेकुरा नष्ट गरेर हत्या गरे।  एक अध्ययनले उनीहरुले अमेरिकामा विश्वको दश प्रतिशत जनसंख्याको हत्या गरेको दाबी गरेको छ। 


    १७औं शताब्दीको सुरूवातमा जब श्वेत युरोपियनहरुले दासका रुपमा अफ्रिकीहरुलाई अमेरिका पुर्‍याए, क्यापिटल हिलको बुधबारको दृश्यको जग त्यसैबेला हालिएको थियो। त्यसबेला अफ्रिकी अमेरिकी र युरोपेली अमेरिकी कामदारहरुलाई समान व्यवहार गरिन्थ्यो। बिस्तारै, अफ्रिकी अमेरिकीहरुलाई अलग लाइनमा राख्न थालियो। उनीहरुमाथि गर्ने हरेक व्यवहार भिन्न हुँदै गयो। 


    अमेरिकी भूमिमा प्रभुत्व जमाएका युरोपेली आप्रवासीले पहिले अफ्रिकीहरुको नाम खोसे, उनीहरुलाई अमेरिका आइपुगेको स्थान र उमेरका आधारमा दर्ता गरियो। रंगभेदले आकार ग्रहण गर्दै जाँदा युरोपेली कामदारलाई दासत्वबाट मुक्त गरियो भने अफ्रिकी दासमाथिको व्यवहार झन्झन् क्रुर हुँदै गयो। छालाको रंगमा आधारित आदिम दासप्रथा अमेरिकी समाजको वास्तविक बन्न पुग्यो। ‘वर्तमान अमेरिकामा पर्ने भूभागमा बसोबास गर्ने अफ्रिकी अमेरिकीले सुरुका २४६ वर्ष आफ्नो शरिर र स्वासप्रश्वासमा पूर्ण स्वतन्त्रता भएका मानिसहरुको डरलाग्दो आतंकमा बाँच्नुपर्‍यो, त्यस्तो आततयी व्यवहारबाट उनीहरुलाई बचाउन नियन्त्रणको कुनै माध्यम नै थिएन,’ विल्करसनले लेखेकी छिन्। ‘अमेरिकी निग्रोहरुको जीवनको त्रासदी व्याख्या गर्न सक्ने भाषा सायदै होला,’ लेखक जेम्स बाल्डविनको भनाई छ। 


    १८६१देखि १८६५सम्म चलेको गृहयुद्धले औपचारिक रुपमा दासप्रथा अन्त्यको घोषणा त गर्‍यो तर रंगभेद नयाँ चरणमा प्रवेश गर्‍यो। अफ्रिकीहरुलाई दास बनाउन नपाएका श्वेतहरुले विभिन्न तरिकाले उनीहरुमाथि आतंक र विभेदलाई जिवन्त राखे । ‘मोब लिन्चिङ’ यसको एउटा स्वरुप थियो। दासप्रथाको ‍औपचारिक अन्त्य हुनुअघि दास-मालिकहरु आफ्ना दासहरुमाथि आफ्नो वीरता देखाउन भीडको माझमा ल्याएर कोर्रा बर्साउँथे। 


    विल्करसनले आफ्नो किताबमा यस्ता दर्जनौं घटना संकलित गरेकी छिन्। १८औं शताब्दीको मध्यतिर अमेरिकी दक्षिणको कुनै प्रेस्बिटरियन चर्च अगाडि सयौं मानिस जम्मा भएका थिए, जहाँ मानिसहरु ठूलो स्वरले हल्ला गरिररहेका थिए। यो सुनेर एउटा बृद्ध त्यहाँ पुग्छ। त्यहाँ एक अफ्रिकी पुरुषलाई नग्न बनाइको छ र उसको हातले रुखमा झुन्डिन लगाइएको छ। उसको खुट्टामा फलामको साङ्लाले बाँधिएको छ। सानो टेकोमा टेक्न लगाइएको छ। उसलाई यही अवस्थामा चार सय कोर्रा मारिन्छ। 


    त्यहाँ आइपुगेको चर्चको बृद्धले सोध्छ, ‘उसको अपराध के थियो?’


    कसैले जवाफ दिन्छ, ‘मालिकलाई मुख फर्काएको थियो ।’


    सन् १८६५मा गृहयुद्ध सकिएर दासप्रथा अन्त्यको औपचारिक घोषणा भएपनि भीडतन्त्रको आततायी शासन सकिएन। दमित जातमाथि भीडको त्रासदी सिर्जना गरेर शोषण गर्न अमेरिकीहरु लागिरहे। पुनर्संरचनाको प्रक्रिया धेरै समय नचल्दै विभेदलाई संस्थागत गर्ने नयाँ कानुनहरु ‘जिम क्रो’को युग सुरु भयो, जसले अफ्रिकी र श्वेतहरुका निम्ति ‘समान तर फरक’ व्यहार गर्ने नीति अख्तियार गर्‍यो। तर त्यो समानता नाममात्रैको थियो। यसले अफ्रिकी अमेरिकीहरुलाई समाजको मुलधारमा आउनबाट रोक्न हरसम्भव संरचनात्मक उपाय अवलम्बन गर्‍यो। यसले रंगभेदलाई कानुनी र सामाजिक रुपमा नै संस्थागत गर्‍यो। यसले दासप्रथालाई निरन्तरता दियो। यसपछि अमेरिकामा वर्चश्वशाली श्वेत आप्रवासीको भीडतन्त्रको शासन अझ बलियो भयो। जिम क्रो कानुन र त्यसपछिको अवधिमा तपाईंले खोज्नु भयो भने हजारौं ‘मोब लिन्चिङ’का घटना पाउनु हुनेछ, जहाँ भिडले क्रुरतापूर्वक अफ्रिकी अमेरिकीको हत्या गर्छ। 


    विल्करसनले आफ्नो किताबमा सन् १९१९को एउटा घटना उल्लेख गरेकी छिन्। अमेरिकाको ओमाहा शहरकी एक श्वेत महिला र उनका प्रेमीले एउटा अश्वेत पुरुषले दुर्व्यवहार गरेको आरोप लगाउँछन्। त्यहाँ के भएको थियो भन्नेबारे जानकार अरु कोही थिएनन्। मात्रै यही आरोपको भरमा उनीहरुले विल ब्राउन नामक एक अफ्रिकी अमेरिकीलाई दोषी ठहर्‍याउँछन्। ब्राउनको हत्या अर्थात लिन्चिङको लागि पत्रिकामा सार्वजनिक विज्ञापन छापिन्छ र भीडलाई आमन्त्रित गरिन्छ। 


    त्यसदिन ब्राउनलाई पक्राउ गरेर अदालत लगिएको हुन्छ। १५ हजार मानिसको भीड अदालततर्फ अगाडी बढ्छ। उनीहरुले पहिले पानीको पाइप काट्छन् र अदालतमा आगो लगाउँछन्। भीडको नाइकेले ब्राउनलाई अदालतको छतबाट तानेर बाहिर निकाल्छन्। ‘त्यसपछि सहरका मान्छेहरुले आफ्नो काम सुरु गरे, जुन कामका लागि उनीहरु त्यहाँ जम्मा भएका थिए,’ विल्करसन् लेख्छिन्, ‘पहिले उनीहरुले विल ब्राउनलाई थुतेर ल्याए, अनि उसमाथि कुटपिट गर्न आफैं झगडा गर्न थाले। अर्धचेत भएपछि उनीहरुले ब्राउनलाई अदालतअघि सडक बत्तीमा झुन्ड्याए। अनि झुन्डिएको उनको शरीरमा गोली चलाए। जति ब्राउनमाथि गोली चल्थ्यो, त्यती भीड खुशीले चिच्याउँथ्यो।’ 


    घटना यतिमा सकिएन। भीडले ब्राउनको मृत शरीरलाई प्रहरी गाडीको पछाडी बाँध्यो र घिसार्दै पुरा ओमाहा शहर घुमायो। ब्राउनलाई झुन्ड्याएको डोरी टुक्राएर बेचियो, जसलाई मानिसहरुले सगर्व आफ्नो घरमा सजाएर राखे। ब्राउनलाई झुन्ड्याइएको फोटो पोस्टकार्डको रुपमा बिक्री गरियो। 


    ब्राउनको हत्या मात्रै होइन, अमेरिकाले भीडतन्त्रको शासनमाथि यसैगरी गर्व गरिरहन्थ्यो। ‘मोब लिन्चिङ’को तस्बिरलाई पोस्टकार्डका रुपमा प्रयोग गर्ने प्रचलन २०औं शताब्दीको उत्तरार्धसम्मै थियो। यो अमेरिकाको वास्तविक इतिहास हो, जसको डिएनए आजपनि अमेरिकी समाजको नशामा बगिरहेको छ। क्यापिटल हिलमा देखिएको उन्माद यही भीडतन्त्रको हो, जो अफ्रिकी अमेरिकीको स्वतन्त्रताबाट त्रस्त छ। समाजमा आफ्नो वर्चश्व गुम्यो भनेर मात्रै होइन, यो भीड हिजोका दासबाट शासित हुनुपर्छ भन्ने लघुताभाषबाट सिकिस्त छ। 


    हिजो ब्राउनको हत्याका लागि रातारात जम्मा हुने त्यही भीड हो, जसले ट्रम्पजस्ता अतिवादीलाई ह्वाइटहाउस विराजमान गरायो। त्यही भीड हो, जसले ट्रम्पको उक्साहटमा क्यापिटल हिलमा लोकतन्त्रको ‘मोब लिन्चिङ’ गर्ने प्रयत्न गर्‍यो। 


    त्यसैले, ओ अमेरिकाबासी! क्यापिटल हिलको घटना तेस्रो विश्वको कुनै पनि प्रणाली, व्यवस्था वा राजनीतिसँग तुलना गर्ने योग्य छैन। तुलना गर्न सकिन्छ नै भनेपनि त्यो छुट तिमीलाई छैन। भीडतन्त्रको शासन अमेरिकी इतिहासको सर्वाधिक कुरूप पक्ष हो, जसलाई तिमीले आफैं आविष्कार गरेका हौ। 


    एकपटक ऐना हेर अमेरिका! क्यापिटल हिल घटनामा तिम्रो सक्कली अनुहार देखिएको छ। 

    images
  • सम्बन्धित विषय:

  • # क्यापिटल हिल

  • सुनौलो नेपाल

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images