काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रूसी आक्रमण सामना गरिरहेको युक्रेनको राजधानी किएभको भ्रमण गरेका छन् । बिबिसीका अनुसार युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेट्न जोन्सन शनिबार अचानक किएभ पुगेका थिए ।
गत फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण थालेको रूसले मार्च २९ मा किएभनजिकै रहेका आफ्ना सेना हटाएको थियो । रूसी आक्रमण अहिले पूर्वी युक्रेनतिर केन्द्रीत भएको छ । पूर्वघोषणा बिना किएभ पुगेका जोनसनले जेलेन्स्कीसँग भेटवार्ता गरेका छन् ।
उनले रूसी आक्रमणविरूद्ध जेलेन्स्कीको नेतृत्व र युक्रेनी जनताले देखाएको बहादुरीको प्रशंसा गर्दै बेलायतले थप सैन्य सहायता दिने घोषणा गरेका छन् ।
बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति जेलेन्स्कीले किएभका सडकमा घुमाएका थिए । दायाँबायाँ हतियारधारी सैनिकहरूका बीच जोन्सन र जेलेन्स्की किएभका सडकमा हिँडेका थिए । त्यो क्रममा जोन्सनले केही सर्वसाधारणसँग पनि कुरा गरेको भिडिओमा देखिन्छ ।