logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • गठबन्धनले मेयर समाजवादीलाई दिने हल्ला चलेपछि पोखराका कांग्रेस नेताहरु काठमाडौंमा

    गठबन्धनले मेयर समाजवादीलाई दिने हल्ला चलेपछि पोखराका कांग्रेस नेताहरु काठमाडौंमा

    8.3K
    Shares

    पोखरा । सत्तारुढ गठबन्धनमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले दाबी गरेपछि नेपाली कांग्रेस, कास्कीका नेताहरु डेलिगेसनका लागि काठमाडौं आएका छन् । पूर्वमन्त्री यज्ञबहादुुर थापाको नेतृत्वमा जिल्लाका नेताहरु डेलिगेसनका लागि काठमाडौं आएका हुन् । पोखराको मेयर पद छोड्न नसकिने अडानसहित काठमाडौं आएका उनीहरुले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेतालाई भेट्ने छन् ।

    उनीहरुले सभापति देउवासहित उपसभापति, महामन्त्री र शीर्ष तहका नेताहरुसँग भेट्ने तय भएको छ । ‘केही काठमाडौंमै हुनुहुन्छ । ठूलो संख्यामा पोखराबाट जान लागेका छौं,’ डेलिगेसनमा आएका पूर्वमन्त्री थापाले भने । सत्ता गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले कांग्रेसलाई ३ महानगर लिएर गठबन्धनका अरु दलका लागि ३ वटा छाड्न प्रस्ताव गरेका छन् ।

    काठमाडौं, विराटनगर र ललितपुर लिन प्रस्ताव गरेका उनीहरुले भरतपुर माओवादीले, वीरगञ्ज जसपाले र पोखरा एकीकृत समाजवादीले लिन खोजेका छन् । सत्ता गठबन्धनका अन्य दलको तुलनामा पोखरामा कांग्रेस बलियो रहेको भन्दै नेताहरुले मेयर छाड्न नसक्ने बताएका छन् ।

    पूर्वमन्त्री थापाले भने, ‘पोखरामा मेयर हामीले नपाउने हो कि जस्तो देखियो । तर अरुलाई जिताउन सकिन्न,’ थापाले भने, ‘अरुलाई उम्मेदवार बनाउनु सुसाइड जस्तो हुन्छ ।’ पोखराको मेयर आफूहरुले लिएर अरु पदमा छलफल गर्न सकिने कास्कीका कांग्रेस नेताहरु बताउँछन् । ‘मेयर कांग्रेसले पाउनुपर्छ । अरु पदमा भने छलफल गरेर हामी लचिलो हुन तयार छौं,’ थापाले भने, ‘३÷३ (महानगरपालिका) बाँड्ने नेताहरु बीच कुरा भएको सुनेका छौं । त्यसो हुँदा पोखरा अरुलाई दिने हो कि भन्ने शंका लागेर काठमाडौं जान लागेका छौं ।’

    पोखरा पुगेका कांग्रेस नेता रामचन्द्र पौडेललाई पनि मेयर छोड्न नसकिने सुनाएको थापाले बताए । कास्कीका ३ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका साथै ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रलाई पोखरा महानगरले छोएको छ । पोखराका ११÷११ वटा वडा तीन वटा प्रतिनिधि सभाको क्षेत्रमा पर्छ । ‘मेयर गुमायौं भने प्रदेश र केन्द्रको चुनावमा पनि असर गर्छ’ थापाले भने, ‘यो कुरा नेताहरुले बुझ्नुप¥यो नि !’

    गत निर्वाचनमा एमालेका उम्मेदवार मानबहादुर जिसीले ६० हजार ११८ मतसहित पोखरा महानगरपालिकामा जित हासिल गरेका थिए । कांग्रेसका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएर पराजित बने । पोखरा महानगरमा २ लाख ७ हजार मतदाता छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend