logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • हावाहुरीले विद्यालयको छानो उडाउँदा विद्यार्थीको बिचल्ली, पठनपाठन ठप्प

    हावाहुरीले विद्यालयको छानो उडाउँदा विद्यार्थीको बिचल्ली, पठनपाठन ठप्प

    12K
    Shares

    तुलसिपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ । गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो ।

    विद्यालयका प्रधानाध्यापक फष्टबहादुर राणाका अनुसार तीनवटा कक्षाको पठनपाठन जस्तापाताको छानोमुनि हुँदैआएको थियो । अहिले विद्यार्थी घाममा बसेर परीक्षा दिन बाध्य छन् । “परीक्षासमेत प्रभावित भएको छ । नियमित कक्षा सञ्चालन गर्न समस्या छ”, उनले भने ।

    कक्षा ४, ५र ६ का विद्यार्थी छाप्रोमा पढ्नुपर्ने अवस्था थियो । विसं २०२८ मा स्थापना भएको उक्त विद्यालयको भवन जीर्ण छ । पुरानो भवन भत्काएर नयाँ निर्माण गरिँदै छ । विद्यालय भवन निर्माण पूरा नहुँदा पठनपाठनमा बाधा पुगेको प्रधानाध्यापक राणा बताउँछन् । गत कात्तिकमा भवन भत्काएर नयाँ निर्माण थालिएको हो । ‘छाया नेपाल’ले सँगसँगै निर्माण थालेको तुलसीपुर–७ कालाखोलास्थित भवनको काम अन्तिम चरणमा पुगेको छ तर, अम्बासको भवन निर्माणको काम भने सुस्त गतिमा छ ।

    विद्यालयका प्रअ राणाका अनुसार असार मसान्तसम्म सक्ने गरी सम्झौता भए पनि विद्यार्थीको पठनपाठनलाई मध्यनजर गरी छिट्टै पूरा गर्ने गरी अगाडि बढ्ने आश्वासन दिइएको थियो । रु एक करोड ४३ लाखको लागतमा आठ कोठाको भवन निर्माण गरिँदै छ । कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा हाल २४५ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा १४ शिक्षक कर्मचारी कार्यरत छन् ।


    रासस
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend