चितवन – गठबन्धन विरोधी कुनैपनि गतिविधि नगर्न कार्यकर्तालाई चितवन कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले आग्रह गरेपछि चितवनका कांग्रेस कार्यकर्ताहरु आक्रोशित बनेका छन्।
सभापतिले विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउन पार्टीका सबै नेता, कार्यकर्तालाई आग्रह गरेपछि चितवनका नेता कार्यकर्ताहरुले जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी नै गरेका छन् ।
जिल्लामा मेयर कांग्रेसले नपाएपछि कार्यकर्ता आक्रोशित छन्। भरतपुर महानगरको मेयर कांग्रेसले नपाएको भन्दै कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटाले बागी उम्मेदवारी समेत दिने बताउदै आएका छन् ।
सोही अभियान अन्तरगत शुक्रबार दिउँसो असन्तुष्ट नेता कार्यकर्ताहरुको भेला समेत भैसकेको छ। भेलामा भरतपुर महानगरपालिकाको मेयर छाड्ने केन्द्रको निर्णयबारेमा छलफल गरेर आगामी रणनीति बारे छलफल गरिएको बताइएको छ ।