विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ । मेयरको टिकट नगर कमिटी अध्यक्ष सागर थापालाई दिने निर्णय गरेको हो ।
विराटनगरको मेयरमा लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए । तर उनीहरुलाई पछि पार्दै थापाले टिकट पाएका हुन् । उनले आज दिउँसो उम्मेदवारी मनोनयन दर्ता गर्दै छन् ।
नेकपा एमालेले उम्मेदवारको टुंगो लगाए पनि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाइसकेको छैन । कांग्रेसबाट नागेश कोइराला, भीम पराजुली र अमृत अर्याल मेयरको प्रमुख दाबेदार छन् ।
गठबन्धनमा रहेका दलहरुले भागबन्डा गर्दा विराटनगरको मेयर कांग्रेस र उपमेयर जसपाको भागमा परेको थियो ।