काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले सरकारले मानवअधिकार उल्लंघनकर्ताको आरोपितलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको आरोप लगाएका छन् । बुधबार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहलाई मानवअधिकार उल्लंघनकर्ताको आरोप रहेको बताए ।
मानवअधिकार उल्लंघनकर्तालाई प्रहरी महानिरीक्षक नियुक्त गरेर सरकारले राज्यसत्ताको दुरुपयोग गरेको उनको आरोप थियो ।
‘मानवअधिकार उल्लंघनकर्ताको रूपमा उनीमाथि (सिंहमाथि) आरोप लागेको छ । कुनै बेला कुवेरसिंह राणामाथि आरोप लागेको थियो– २०६५ सालमा,’ ठाकुरले भने, ‘त्यसबेला आयोगका तत्कालीन अध्यक्ष केदारनाथ उपाध्यायको नेतृत्वको आयोगले सरकारलाई सतर्क गराएको थियो ।’
महानिरीक्षक सिंहको सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको ठाकुरले जानकारी दिए । ‘अहिले हामी अनुसन्धान गर्दैछौँ । फाइलहरू हेरिरहेका छौँ,’ उनले भने, ‘यो पनि एक किसिमको राज्यको सत्ताको दुरुपयोग भयो । यो बेलामा टप लेभलका सुरक्षा निकायका प्रमुख बनाउँदाखेरी केही न केही गम्भीर मानवअधिकारको प्रश्न पनि हो ।’