काठमाडौं । शुक्रबार काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ महाराजगञ्जमा मकै बेच्दै हिँडेकी एक महिलाको ठेलालाई नगर प्रहरीले जबरजस्ति नियन्त्रणमा लिएको छ ।
आफ्नो ठेला प्रहरीले उठाएपछि महिलाले हार गुहार गरिन् । तर नगर प्रहरीले उनलाई नै सडकमा लछार पछार पार्यो
एक पुरुष नगर प्रहरीलाई रोक्न खोज्छन् । तर नगर प्रहरीले ठेला र केही मकै गाडीमा हालेर जान्छ । नगर प्रहरीले गरेको ज्यादतीको आलोचना भइरहेको छ ।
महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटा भने यस्ता घटना दिनहुँ हुने बताउँछन् ।
‘यस्तो घटना त दैनिक दशौं हुन्छन् । हामीले पटक पटक ठेलागाडा नराख्न भनेका छौैं ।
फुटपाथ र सडकमा नराख्नु भनेको ठाउँमा ठेला राखेपछि जफत हुने कुरा सामान्य हो,’ सापकोटाले भने, ‘नगर प्रहरीको नजर नपर्ला कि भनेर हेपेर ठेलाहरु राख्छन् । हामीले छोड्ने हो भने त फुटपाथ र सडक कसरी व्यवस्थापन हुन्छ ?’
उनका अनुसार यसरी जफत भएको ठेला र सामान फिर्ता हुँदैन । यस्ता सामान महानगरले लिलामी गर्ने गरेको छ ।
महानगरका सूचना अधिकारी वसन्त आचार्यले भने यो विषयमा जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
काठमाडौं महानगरका मेयर बालेन साह पनि यसबारे बोलेका छैनन् । उनको सचिवालयले भने घटनाबारे जानकारी लिने प्रयास भइरहेको बताएको छ ।