काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर आफ्नो साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आगामी मङ्सिरमा ती निकायको निर्वाचन गर्ने तयारीमा सरकार लागेको छ ।
त्यसका लागि आवश्यक पूर्वतयारीको कामसमेत निर्वाचन आयोग र सरकारलेसमेत सुरु गरिसकेका अवस्थामा माओवादी केन्द्रले आन्तरिकरुपमा तयारी सुरु गरेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म सबै प्रदेश समन्वय समितिको बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ ।
त्यस्तै कर्णाली प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रम आगामी साउन २९ गतेका लागि तय गरिएको छ । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले दिएको जानकारीअनुसार पार्टी सङ्गठन निर्माणलाई तीव्र पार्ने र आन्तरिकरुपमा सबै खालको तयारी गर्ने निर्णय आजको बैठकले गरेको छ ।
यस्तै आगामी निर्वाचनसम्मका लागि केन्द्र र प्रदेशबीच समन्वयको काम गर्नेगरी प्रदेश इञ्चार्जको नेतृत्वमा पार्टीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सम्मिलित प्रदेश समन्वय समिति गठन गर्ने निर्णय आजको बैठकले गरेको छ ।