काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिती बैठकमा जनप्रतिनिधिको सुविधा कटौतीको विषयले प्रवेश गरेको छ । केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले स्थानीय तहदेखि संघीय सरकारसम्म राजनीतिक नेतृत्वलाई दिइने सुविधा कटौती गर्न सुझाव दिएका हुन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा मंगलबार आफ्नो धारणा राख्दै पोखरेलले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई प्रदेश सरकारसँग समन्वय गरेर राजनीतिक नेतृत्वको सुविधा कटौती गर्न सुझाव दिएका हुन् ।
‘सरकारले प्रदेश सरकारहरुसँग समन्वय गरी हाम्रो आर्थिक अवस्था नसुध्रिदासम्म स्थानीय तहदेखि संघीय सरकारसम्म राजनीतिक नेतृत्वलाई दिइने अनावश्यक सुविधाहरुमा कटौती गरौं’ उनले भने । उनले राजनीतिक सहमति गरी डा.डिल्लीराज खनाल नेतृत्वको समितिको प्रतिवेदन लागू गर्न पनि सुझाव दिएका छन् ।
सरकारले २०७५ सालमा खनालको नेतृत्वमा सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको थियो । उक्त समितिले सरकारको खर्च घटाउनका लागि सरकारका विभिन्न निकाय खारेज गर्नेदेखि मन्त्रालयको संख्या घटाउनेसम्मको सुझाव दिएको थियो । नेता पोखरेलले कांग्रेस नेतृत्वको वर्तमान सरकारले आफ्नै आर्थिक नीतिका आधारमा मुलुक चलाउनुपर्ने बताएका छन् ।
सरकारले महंगा हतियार र हेलिकप्टर खरिद गर्न लागेको विषयमा पनि पोखरेलले प्रधानमन्त्रीको जवाफ मागेका छन् । ‘विदेशी मुद्रा सञ्चितीको यस्तो अवस्थामा के अहिले यस्ता सामग्रीहरु खरिद गर्ने बेला हो ?’ सरकारको यस्तो गतिविधिले मुलुकलाई श्रीलंकाकै बाटोमा लाने पोखरेलले बताए ।