काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको विशेष संसदीय समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्टको प्राविधिक विषयमा फरेन्सिक ल्याबका विज्ञहरुसँग छलफल गर्ने भएको छ । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रहरीको फरेन्सिक ल्याबको रिपोर्ट ल्याबका विज्ञहरुसँगबाटै जानकारी लिन लागेको हो ।
बैठकपछि समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबबाट आएको रिपोर्टको प्राविधिक अध्ययन गर्नुपर्ने देखिएको बताए । उनले फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट प्राविधिक भएकाले ल्याबका विज्ञसँग छलफल गरेर थप अध्ययन गर्न मंगलवार दिउँसो ४ बजेको बैठकमा विज्ञलाई आमन्त्रण गरिएको जानकारी दिए ।
सचिव अर्यालले ल्याबका प्राविधिकहरूसँग बसेर समितिले छलफल गरेपछि मात्रै अन्य थप जानकारी दिन सकिने बताए । समितिले अर्थ मन्त्रालयले अर्थ मन्त्रालयको असार १३ र १४ गतेको सिसिटिभी डिलिट भएको जानकारी गराउँदै मन्त्रालयको सिसिटिभीको हार्डडिक्स नै समितिलाई दिएको थियो । समिमिले डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नको लागि नेपाल
प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो ।
फरेन्सिक ल्याबले सोमवार समितिलाई हार्डडिक्स फिर्ता गरेको थियो ।