logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रचण्ड र माधव नेपालले कांग्रेससँग बार्गेनिङ गर्न मात्रै बाम गठबन्धनको चर्चा चलाए : शेखर कोइराला

    प्रचण्ड र माधव नेपालले कांग्रेससँग बार्गेनिङ गर्न मात्रै बाम गठबन्धनको चर्चा चलाए : शेखर कोइराला

    3.1K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेससँग बार्गेनिङ गर्न मात्रै बाम गठबन्धनको चर्चा चलाइएको बताएका छन् । सत्ता गठबन्धनका पाँच दलमध्ये कांग्रेस बाहेकका दलले बाम गठबन्धन गर्ने गृहकार्य गरिरहेको बेला कोइरालाको यस्तो धारणा आएको हो । नेपाल प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले माओवादी, एकीकृत समाजवादी र जसपाले तालमेलका विषयमा उठाइरहेका कुरा बार्गेनिङ गर्नका लागि मात्र भएको बताए ।

    ‘हामी नै सबै हौं भन्ने उनीहरुलाई लागेको छ, तर बुझ्नुपर्ने कुरा के हो भने नेपाली कांग्रेस लार्ज पार्टी हो ।’ उनले भने । संघ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेसलाई कम क्षति हुने गरी कसरी तालमेलमा जाने भनेर विभिन्न राजनीतिक दलहरुसँग छलफल भइरहेको उनले बताए । ‘प्रदेश र संघको निर्वाचनमा होमिंदै छौं, कांग्रेसलाई कम क्षति हुने गरी कसरी जाने भनेर छलफल भइरहेको छ,’ उनले भने ।

    तालमेल गर्ने क्रममा ५ वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्ने ज्ञारेन्टी हुनुपर्ने कोइरालाले बताए । तालमेलका लागि उनले तीन शर्त राखे । पहिलो, आर्थिक सामाजिक रुपान्तरणको बारेमा एउटै धारणा हुनुपर्ने, दोस्रो, वैदेशिक नीतिमा न्युनतम समझदारी हुनुपर्ने र तेस्रो, ५ वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्नुपर्ने उनको शर्त छ । संघ र प्रदेशको निर्वाचनका लागि सत्ता गठबन्धन भित्र हुने सिट बाँडफाटमा माओवादी केन्द्रले भनेअनुसार जान नसकिने उनले बताए ।

    गिरीजाबाबुले भनेजस्तो सहमति, सहकार्य र एकता पहिला कांग्रेसभित्र हुनुपर्ने र त्यसपछि अन्य तालमेल गर्ने दलसँग खोज्नुपर्ने उनले बताए । प्रदेश र संघको निर्वाचनमा जाँदा स्थानीय तहमा तालमेल गर्दा देखिएको कमजोरी दोहोरिन नहुने कोइरालाको भनाइ छ । कांग्रेस भित्रको गुटगत राजनीति गर्दा पार्टी कमजोर भइरहेको भन्ने पत्रकारको जिज्ञासामा उनले वैचारिक राजनीतिमा फरक धारणा आउनु सामान्य भएको बताउँदै कम्युनिष्ट, जसपा लगायत अन्य दलसँग लड्दा कांग्रेस एकढिक्का हुने बताए ।

    अंगिकृत नागरिकता भन्ने वित्तिकै दक्षिणतिर हेरेर बहस गर्ने गरेकोमा असन्तुष्टि जनाउँदै उनले नेपाली केटासँग विवाह गरेर आएकी विदेशी महिलाले अर्को देशको नागरिकता त्यागेपछि नेपाली नागरिकता दिनुलाई गलत ठान्न नहुने समेत तर्क गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend