काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमाध्यमहरुलाई समय सुहाउँदो रुपमा परिमार्जन गर्दै लैजानुपर्ने आवश्यक्ता रहेको बताएका छन् । बुधबार काठमाडौंमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले विश्वमा सूचना तथा प्रविधिको द्रुतगतिमा भइरहेको विकासलाई मध्यनजर गरेर सहज र
आधुनिक माध्यमबाट नागरिकलाई सत्यतथ्य सूचना प्रकाशन गर्न सक्नुपर्ने बताए ।
उनले सत्यतथ्य सूचना प्रशारण गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुने बताए । प्रधानमन्त्री देउवाले नागरिकको सूचनाको हकलाई निश्चित गर्न सञ्चारमाध्यमलाई थप चुस्त बनाउन आवश्यक रहेको उल्लेख गरे । उनले नागरिक शिक्षित र सुसुचित भएमात्रै सरकार जिम्मेवार बन्नसक्ने बताए । प्रधानमन्त्री देउवाले नागरिकलाई शिक्षित र सुसुचित गर्ने गरेर सञ्चारमाध्यमहरुले सत्यतथ्य सूचना प्रशारण गर्न जरुरी रहेको उल्लेख गरे ।
उनले तथ्यहीन, भ्रामक समामजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकहरुमा भ्रामकता सिर्जना हुने र पत्रकारीताको मुल मर्ममाथि पनि प्रहार हुने भएकोले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले समाचार सम्प्रेषण जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार भएर काम गर्न जरुरी रहेको भन्दै वर्तमान सरकार नागरिकताको सूचनाको अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गठरे ।
उनले प्रेस स्वतन्त्रताबाट मात्रै नागरिकको हक अधिकारको पूर्ण सुनिश्चितता हुने समेत जिकिर गरे ।