logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

    अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

    4.7K
    Shares
    अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

    काठमाडौं । कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिरोका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो ।

    अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भासिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो । सडक सञ्चालन भएसँगै सवारीसाधन ओहोरदोहोर गर्न थालेका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए । बीच बाटोमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिराले काभ्रेभिरमा तीन मिटर सडक पुरिएको थियो भने सोही स्थान नजिकको घोप्टेभिरमा करिब ५० मिटर सडक भासिएको थियो ।

    मौसममा सामान्य सुधार आएपछि बुधबारदेखि सडक मर्मतको काम थालिएको छ । सडक स्तरोन्नतिमा परिचालन गरिएको निर्माण कन्स्ट्रक्सनका उपकरण र जनशक्ति परिचालन गरेर बेनी–जोमसोम सीधा यातायात सञ्चालनमा ल्याइएको सुपरभाइजर शेरचनले बताए । काभ्रेभिरमा सडक अवरुद्ध हुँदा पैदलयात्री पैरोथाप्लाको पदमार्ग हुँदै घुमाउरो बाटोबाट यात्रा गर्न बाध्य थिए ।

    वर्षाका कारण खोलामा आएको बाढीले म्याग्दीको बेगखोलामा समेत अवरुद्ध भएको सडकलाई खुलाइएको छ । वर्षात्को समयमा गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिरोले सडक अवरुद्ध हुने गरेको छ ।

    बेनी–जोमसोम ७६ किमी सडकको म्याग्दी खण्ड बर्खाको समयमा बाढीपहिरोको उच्च जोखिम छ । म्याग्दी–काभेभिर सडकको सिमानाको बाँदरजुँगे भिर आसपासमा छिनछिनमा खस्ने पहिराले यात्रुले जोखिममा पर्ने गरेका छन् । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत विस्फोटक पदार्थको प्रयोगका कारण पहिरोको जोखिम अत्यधिक छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend