काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताएका छन् । सचिव भट्टराईले चालू केन्द्रिय कमिटी बैठकले सो निर्वाचनमा बहुमत ल्याउने संकल्पसहितको सन्देश दिने दावी समेत गरे । उनले मुलुकको आन्तरिक तथा बाह्य दुवै कारणले नेकपा एमाले नेतृत्वको सरकारको खोजि भईरहेको भन्दै सोही आवश्यक्ता पूरा हुने गरी आफ्नो पार्टीले केन्द्रिय कमिटीमार्फत् चुनावी रणनीति तय गर्ने पनि स्पष्ट पारे ।
सत्तारुढ गठबन्धन सरकारका कारण मुलुक संकटमा परेको आरोप लगाउँदै सचिव भट्टराईले त्यसबाट मुलुकलाई पार लगाउन आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको पटकपटक दोहो¥याए । सचिव भट्टराईले आगामी निर्वाचनमा अन्तरघात नहुने गरी पार्टीको सिंगो पक्तिलाई परिचालन गर्न पनि केन्द्रिय कमिटी बैठकले आवश्यक निर्देशन दिने बताए । उनले पार्टीको उम्मेदवार चयनमा स्थानीय तह निर्वाचनमा भएका कमीकमजोरीहरुलाई पनि आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दोहोरिन नदिने दावी गरे ।
उनले आगामी निर्वाचनमा आफ्नो पार्टीको प्राथमिकता गठबन्धन नभएको पनि स्पष्ट पारे । संवैधानिक व्यवस्था अनुसार चुनावमा दलहरुबीच प्रतिस्पर्धा हुने भएकाले आफ्नो दल आफ्नै सामथ्र्यमा उभिएर निर्वाचनमा जाने उनको तर्क छ । सचिव भट्टराईले स्थानीय तह निर्वाचनमा भएको नकारात्मक सन्देशहरुबाट सिकेर आगामी निर्वाचनमा आफ्नो पार्टीले सम्पूर्ण शक्ति परिचालन गर्ने बताए । सचिव भट्टराईले आगामी निर्वाचनमा आफ्नो पार्टीले इमान्दार र जित्न सक्ने नेताहरुलाई उम्मेदवार बनाउने मापदण्ड तय गरेको पनि बताए ।