logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • नाडा अटोमोबाइल्स एशोशियसनले सिएट नाडा इभि एक्स्पो २०२२ आयोजना गर्ने

    नाडा अटोमोबाइल्स एशोशियसनले सिएट नाडा इभि एक्स्पो २०२२ आयोजना गर्ने

    13.6K
    Shares
    नाडा अटोमोबाइल्स एशोशियसनले सिएट नाडा इभि एक्स्पो २०२२ आयोजना गर्ने

     

    काठमाडौं । नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले आगामी असोज ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा ‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । नाडा अटोमोबाइल एशोसिएशनले सोमवार पत्रकार सम्मेलन गरी ‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजनाबारे जानकारी गराएको हो ।

    नाडाले नेपालमा पहिलो पटक विद्युतीय सवारीसाधनको एक्स्पो गर्न लागेको छ । नाडा ईभी एक्स्पोमा नेपालमा उपलब्ध सबैजसो विद्युतीय सवारीसाधन र तिनका पार्टपूर्जाबारे सम्पूर्ण रुपमा जानकारीसमेत लिन सकिने नाडाले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै नाडा इभी एक्स्पोका सभापति अनुपकुमार बरालले एक्स्पोमा ५१ वटा स्टल रहने बताए ।

    उनले एक्स्पोमा इभीका ७ ब्राण्डका चार पाङ्ग्रे, १६ ब्राण्डका दुई पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे तथा ३ ब्राण्डका टायरहरुको प्रदर्शनीमा राखिने बताए । उनले सावारी साधनबाहेक अन्य बैंक तथा वित्तीय संस्थाका स्टल पनि राखिने बताए । बरालले एक्स्पोमा विद्युतीय सवारीसाधन किन्दा पाइने कर्जा सुविधा, किस्ता, ब्याजदर लगायतका विषयमा वित्तीय संस्थाहरुले जानकारी गराइने पनि बताए ।

    पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष ध्रुव थापाले नेपालमै पहिलो पटक विद्युतीय सवारीको प्रदर्शनी हुन लागेको बताए । उनले नाडा इभी आटो एक्स्पोमा प्रवेश गर्न चाहनेलाई प्रि टिकेट बुकिङ खुला गरिएको बताए । अध्यक्ष थापाले अहिलेको आवश्यकताले इभी गाडीको एक्स्पो गर्नुपर्ने भएकाले नाडा त्यही अनुसार अगाडि बढेको बताए । उनले नाडाले नाडा अटो सो गर्ने सबै प्रक्रिया पूरा गरेपनि सरकारले सवारी साधन आयात खुला नगरेको कारण अन्तिम समयमा रोकिएको बताए । उनले अहिले नेपालको अटो उद्योग नै धरासायी र कठिन मोडमा पुग्ने अवस्थामा पुगेको बताए ।

    अध्यक्ष थापाले धरासायी बन्न लागेको अटो मोवाईल क्षेत्रलाई चलायमान बनाउनको लागि इभी एक्स्पो गर्न लागेको बताए । उनले अहिले नेपालमा विद्युतीय सवारी साधनको अत्याधिक माग रहेको बताए । उनले अटो व्यवसायीहरुले माग अनुसार विद्युतीय सवारी साधन दिन नसकेको बताए । उनले अहिले सवारी साधनको आयातमा १० प्रतिशत विद्युतीय सवारी साधनले ओगटेको बताए । अध्यक्ष थापाले अबको पाँच वर्षपछि नेपालमा ५० प्रतिशत विद्युतीय सवारी साधनको बजार हुने बताए ।

    अध्यक्ष थापाले सरकारको अटो मोबाईल तथा विद्युतीय सवारी साधनसम्बन्धी नीतिहरु अस्थिर रहेको बताए । उनले पछिल्लो दुई वर्षमा चार पटक विद्युतीय सवारी साधनको भन्सार महशुल तथा राजश्वमा परिवर्तन भएको बताए । उनले सरकारको अस्थिर नीतिको कारण अटो व्यसायीहरु विद्युतीय सवारीमा लगानी गर्न डराई रहेको अवस्था रहेको बताए । अध्यक्ष थापाले नाडाको यातायातका साधनलाई विलासिताको वस्तु नभएर अत्यावश्यक वस्तुमा राख्न गरेको माग बजेटमार्फत सम्बोधन भएको बताए । उनले सरकारले अहिले विद्युतीय सवारी साधनमा बढाएको भन्सार दर घटाउनु पर्ने बताए । विद्युतीय सवारी साधनको लागि सरकारले स्थिर नीति बनाए विद्युतीय एसेम्बल उद्योग खोल्नसमेत तयार रहेको अध्यक्ष थापाको भनाई छ ।

    नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनी रहने एक्स्पो चार दिनसम्म चल्नेछ । वातावरणमैत्री विद्युतीय सवारी साधनको अपरिहार्यतालाई मनन गर्दै आयोजना गर्न लागिइएको एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन् । एक्स्पोमा प्रवेश गर्दा विद्यार्थीका लागि टिकट शुल्क १५० रुपैयाँ तथा अन्यका लागि २०० रुपैयाँ तोकिएको छ । वर्तमान समयमा विद्युतीय सवारी साधनहरुको महत्व दिन प्रतिदिन बढ्दै गएको र यस्ता सवारी साधनहरुको बढ्दो प्रयोगले आफनै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढ्न गइ देशलाई आत्मनिर्भर बनाउनसमेत सहयोग पुग्ने विश्वास आयोजकको छ ।

    एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तिय सेवा, विक्रिपछिका सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरु रहनेछन् भने एक्स्पो सम्बन्धी समाचार सम्प्रेषणमा सहजताकालागि साझा मिडिया स्टलको व्यवस्था गरिएको छ । एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भीड–भाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन खल्ती एपमार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend