logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • च्याम्पियन बंगलादेशबाट नेपालले के सिक्ने ?

    च्याम्पियन बंगलादेशबाट नेपालले के सिक्ने ?

    14.5K
    Shares

    काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भारतको दबाब तोडिएसँगै नयाँ राष्ट्र बंगलादेश नयाँ च्याम्पियन बन्यो । छैठौ पटक फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेको नेपाल पाँच पटक नै उपविजेतामा खुम्चिन बाध्य भयो । घरेलु मैदानमा उपाधि उचाल्ने लक्ष्य यस संस्करण पनि नेपाललाई जुरेन ।

    नयाँ शक्तिको रुपमा बंगलादेश उदाउँदा नेपालको स्तर कसरी नियाल्ने भन्ने जवाफ नयाँ च्याम्पियनले प्रस्टाएको छ । सँगै दक्षिण एशियामा अन्य मुलुकले फुटबल सुधारका गतिविधिलाई चलायमान गर्दा नेपाली टोलीमा अपेक्षा अनुसारको सुधारको संकेत देख्न कठिन भएको छ ।

    घरेलु मैदानमा दोस्रोपटक अवसर पाएको नेपाली महिला टोलीलाई सोमवार साफ महिला फुटबलको उपाधि उचाल्ने सुनौलो मौका थियो । सधैको विजेता भारतमाथिको जितपछि उपाधि नजिक पुगेको नेपालले नयाँ प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्नु थियो । टोली उच्च मनोबलमा पनि थियो । किनकी अघिल्ला संस्करणका भेटमा नतिजा नेपालको पक्षमा थियो ।

    बंगलादेशमाथि जितको अपेक्षासहित १६ हजार दर्शक अगाडि खेलेको नेपालले सो नतिजालाई फाइनलमा भने निरन्तरता दिन सकेन । बंगलादेशले समूह चरणका खेलबाट नै उदाउँदो शक्तिको संकेत दिएको थियो । तर नेपाली टोलीको अवस्थामा भने शंका गर्ने अनेकौ पाटा रहे ।

    फाइनलमा पराजित भएपछि नेपाली टोलीकी कप्तान एन्जिाल तुम्बापो सुब्बाले अनुभवको कमीको कारण बताएकी थिइन् । आउँदा दिनमा नेपाली महिला टोली अझै माथि पु¥याउनका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता, घरेलु प्रतियोगितादेखि ग्रासरुट सम्मको योजना आवश्यक रहेको औंल्याइन् ।

    कप्तान एन्जिालाले भनेजस्तै नेपाली महिला टोलीका लागि अनुभव लिने घरेलु प्रतियोगिता बिरलै मात्र हुन्छन् । नाम मात्रको राष्ट्रिय लिग आयोजना गर्ने अखिल नेपाल फुटबल संघले अन्य प्रतियोगिता आयोजना गर्न सकेको छैन । पुरुष प्रतियोगिता मोफसलमा आयोजना भएपनि महिला प्रतियोगिता हुँदैन भन्दा फरक पर्दैन ।

    प्रतियोगिता आयोजना हुने भन्दा केही महिना अघि मात्र महिला खेलाडीलाई डाकेर बन्द प्रशिक्षणमा राख्ने एन्फाको पुरानै चलन हो । महिला फुटबल विकास भएको ४० वर्षको इतिहास भएपनि सुधारका लागि कुनै प्रयास भइरहेको छैन । अघिल्लो वर्ष बल्लतल्ल डबल लिग
    सुरुवात भएपनि विभागीय टोली बाहेक अन्य टोलीले प्रतिस्पर्धात्मक खेल देखाउन सकेनन् ।

    फुटबल विश्लेषक सञ्जीव मिश्रले महिला फुटबलको विकास संस्थागत गर्न लागि घरेलु फुटबल लिग र प्रतियोगिता धेरैभन्दा धेरै आयोजना गर्नुपर्ने बताउँछन् । नेपाली टोलीमा अर्को समस्या भनेको प्रतियोगिता लक्षित गरेर प्रशिक्षक नियुक्त गरिनु पनि हो । केही महिना अगाडि मात्र प्रशिक्षक नियुक्त गर्दा अपेक्षा अनुसार नतिजा ननिस्किएको कतिपयको विश्लेषण छ । साथै दीर्घकालिन योजना नहुँदा महिला टोलीको मेहनत अपर्याप्त भएको हो ।

    सोमवार नेपालविरुद्ध बंगलादेशले निकालेको सफलता त्यसै हासिल गरेको होइन । लामो समयदेखि मेहनत, लगानी, दीर्घकालिन योजना, आदिको उपज हुन् । जुन बंगलादेशले पायो । सन् २०१५ मा बंगलादेशले काठमाडौंमै सम्पन्न एएफसी यू–१४ महिला रिजनल च्याम्पियनसिपको उपाधि जितेको थियो ।

    त्यस प्रतियोगिताको लागि बंगलादेशले देशभरबाट प्रतिभा छनोट खेलाडी उत्पादनमा ध्यान दिँदै नयाँ खेलाडीलाई राष्ट्रिय जिम्मेवारमा लिएको थियो । यस बीचमा लाखौँ युवा खेलाडीहरू यसमा सहभागी भए र झन्डै एक वर्षको आवासीय प्रशिक्षणबाट उत्कृष्ट खेलाडी छनोट गर्दै फुटबल विकासको गति दिएको थियो ।

    विभिन्न प्रतियोगितामा अनुभव संगाल्दै आएको बंगलादेशले सुखद् नतिजा दिन थालेको थियो । जुन नेपालले अनुशरण गर्नुपर्ने देखिएको छ । बंगलादेश उदय हुँदै गर्दा भारत पनि नेपाल भन्दा प्राविधिक हिसावमा बलियो छ । साफमा भारत प्रतिद्वन्द्वी भइरहेको अवस्थामा बंगलादेश उदाउनु अन्य मुलुकका लागि थप चुनौति बढेको हो । नेपालको स्तर बढाउनका फुटबल विश्लेषक सञ्जिव मिश्रले योजनावद्ध तरिकाले अगाडि बढ्नुपर्ने सुझाव दिए ।

    बंगलादेशले जसरी फुटबलमा लगानी गरेको छ, सोही अनुसार नेपालमा पनि लगानी र ग्रासरुटबाट उकास्ने योजनाको आवश्यक छ । तर बिडम्बना नेपालको हालत ठीक विपरीत छ । फुटबलको अभिभावक संस्थामा कुर्चीका लागि प्रतिस्पर्धा भइरहँदा फुटबल विकासका नारा ओझेलमा परेको सबैमा सर्वविदितै छ । नयाँ शक्ति उदाउँदा एन्फा नेतृत्वलाई महिला फुटबलको विकासका लागि योजना सोच्नैपर्ने अवस्था टड्कारो भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend