काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने भन्दै ३२ वटै वडामा माइकिङ गर्न थालेको छ । महानगरले यसअघि गोरखापत्रमा सूचना प्रकाशन गरेको भनेर डोजर लिएर जाने गरेको थियो । तर, समय नै नदिईकन अनधिकृत संरचना हटाएको भन्दै विरोध भएपछि पूर्व सूचना दिने गरी महानगरले माइकिङ गर्न थालेको हो । अनधिकृत संरचनाबारे महानगरमा दैनिक ५० भन्दा बढी उजुरी परिरहेको र त्यसबारे अध्ययन गरेर माइकिङ गर्ने काम भइरहेको महानगरका अधिकारीहरू बताउँछन् ।
‘अब अनधिकृत संरचनाहरु भत्काउन वडाध्यक्षहरुले नै अपनत्व लिएर काम सुरु गरेका छन् । काठमाडौंको सबै वडामा वडाध्यक्षहरुले देखाएको ठाउँमा महानगर प्रहरीले माइकिङ गरिरहेको छ,’ महानगरका एक प्रहरी अधिकारीले भने,’सबै वडाहरुको कुनै न कुनै ठाउँमा अनधिकृत संरचनाहरु छन् । वडाध्यक्षहरुले नै सूचना दिएर भत्काउन भनेका माइकिङ गरेर समय दिइरहेका छौं ।’
काठमाडौंका प्रवक्ता नवीन मानन्धरले महानगरको प्राथमिकता नै व्यवस्थापन रहेकोले सोहीअनुसार काम भइरहेको बताए । उनले सबै वडाहरुमा माइकिङ गर्दा अनधिकृत संरचना हटाउने सूचना बेलैमा पुग्ने भन्दै वडाध्यक्षहरु नै यसमा सक्रिय भएको बताए । काठमाडौं महानगरका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगर प्रहरीलाई आएको सूचनालाई पुष्टि गरेर माइकिङ गर्न थालिएको छ ।