काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि विगतको भन्दा छोटो, बुँदागत र प्रस्ट चुनावी घोषणापत्र बनाउने तयारी गरेको छ । एमालेले योपाली आगामी ५ बर्षमा गर्नसक्ने काम र विषयलाई मात्रै घोषणापत्रमा समेट्नेछ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको चुनावी घोषणापत्र मस्यौदा समितिको बैठकले स्पष्ट र छोटो घोषणापत्र बनाउन उपयुक्त हुने निश्कर्ष निकाल्दै सोही अनुसार मस्यौदा तयार पार्ने काममा मस्यौदा कार्यदलका नेताहरु जुटेका छन् ।
एमालेले घोषणापत्र निर्माण गर्न अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ८ सदस्यीय ‘चुनावी घोषणापत्र मस्यौदा समिति’ गठन गरेको थियो । जसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन् ।
घोषणा पत्र मस्यौदा समितिका सदस्यहरुबीच शुक्रबार भएको छलफलमा घोषणापत्रमा समेट्ने विषयबारे विमर्श भएको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । मस्यौदा समितिका सदस्य समेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीले निर्माण गर्ने शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखिने बताईन् ।