काठमाडौं । संस्कृतिविद् एवम वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई डिलक्स क्याबिनमा सारिएको छ । किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक डा.सुरज बज्राचार्यका अनुसार जोशीको स्वास्थ्यमा केही सुधार भएको र दोहोरो कुरा गर्न सक्ने अवस्थामा छन् ।
‘उहाँ सामान्य दोहोरो कुरा गर्न सक्ने अवस्थामा हुनु भएको र कमजोरी कायमै रहँदा डिलक्स क्याबिनमा सिफ्ट गरी सघन उपचार कक्ष सरहकै सुक्ष्म निगरानीमा राखिएको छ,’ डा. बज्राचार्यले भने ।
डा.बज्राचार्यका अनुसार निमोनिया संक्रमणको साथै मुटुको चाल सम्बन्धी समस्याको उपचार जारी छ । खकार परीक्षण गर्दा एन्टिबोयोटिक्स निरन्तर दिनुपरेको चिकित्सकले जानकारी दिएका छन् ।
अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् । किष्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ ।