पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का कारण संसद् विघटन गर्नु परेको बताएका छन् । एमाले कास्कीले आज (सोमबार) पोखरामा गरेको अगुवा कार्यकर्ता भेलामा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डको अतृप्त चाहनाका कारण संसद् विघटन गर्नु परेपछि मुलुक अस्थिरतामा धकेलिएको आरोप लगाए । ‘माओवादी र हामी मिलेर संयुक्त घोषणापत्र ल्याएका थियौँ । प्रचण्डले त्यसलाई लत्याएर च्यातेर जनादेशको अनादर गरेपछि ताजा जनादेशमा जानुपर्ने अवस्था बन्यो,’ उनले भने ।
अध्यक्ष ओलीले भने, ‘संसद् विघटन गरेर ताजा जनादेशमा जाने विषयलाई प्रतिगमन हो भन्ने भाष्य सिर्जना गरेर जनमानसमा भ्रम सिर्जना गर्ने काम भएको छ । माओवादी अध्यक्ष प्रचण्डको अतृप्त आकांक्षाका कारण मुलुक संकटमा परेको हो ।’