logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • दुई सुर्यले फुटाउलान त जनमोर्चाको गिलास ?

    दुई सुर्यले फुटाउलान त जनमोर्चाको गिलास ?

    10.8K
    Shares
    दुई सुर्यले फुटाउलान त जनमोर्चाको गिलास ?

    काठमाडौं– आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्युठान र बागलुङमा एउटा रमाइलो संयोग बनेको छ। देशभरीमा रहेका जनमोर्चाका दुई उम्मेदवारसँग एमालेका दुई सुर्य सूर्य थापा र डा. सूर्य पाठक सुर्य चिन्ह नै लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

    कुनै समयमा ती दुई जिल्लामा राम्रो प्रभाव रहेको जनमोर्चा अहिले अस्तित्व रक्षाको अन्तिम लडाइँमा छ। रक्षात्मक अवस्थामा पुगिसकेको जनमोर्चालाई निर्वाचनको मुखैमा भएको पार्टीको फुटले दुई सुर्यलाई सहज भएको विश्लेषण  जनमोर्चाकै नेताहरुले गर्न थालेका छन् ।

    तुलनात्मकरुपमा स्थानीय स्तरमा प्रभावशाली रहेका एमालेका उम्मेदवारद्वय सूर्यलाई जनमोर्चा फुटेर बनेको विद्रोही समुह मोटो मसालले बिज्ञप्ति नै निकालेर समर्थन गर्ने बताई सकेको छ।

    आफ्नै पार्टी भित्रको असहयोगका कारण जनमोर्चाका दुई उम्मेदवार केसी र पौडेललाई जीत निकाल्न सहज छैन प्युठान र बागलुङमा नै पटक पटक निर्वाचित बनेर जिल्लाको विकासमा ध्यान नदिएको, जितेपछि जिल्ला फर्केर नआउने गरेको आरोप दुवै माथि अन्य दलको पनि छ।

    अघिल्लो निर्वाचनमा तत्कालिन वाम गठबन्धनको बलमा महामन्त्री सिंहकी पत्नी दुर्गा पौडेलले विजय हासिल गरेको प्युठानमा यसपटक उनै पौडेल कांग्रेसको समर्थनमा मैदानमा उत्रिएकी छन् । भने उनी विरुद्ध एमालेले पोलिटब्यूरो सदस्य रहेका सूर्य थापालाई मैदानमा उतारेको छ ।

    सूर्य थापा तीनै नेता हुन्, जसले नेकपा एमालेको कमजोर भनिएको क्षेत्रमा वामदेव गौतमलाई चुनाव जिताएका थिए । प्युठान जिल्लाको विकासको रोडम्याप आफैंले लेखेर वामदेवको फोटो राखेर विजय झण्डा फहराउने थापा कमाण्डर थिए । तर, जन्मभूमि कहिल्यै नछाड्ने वचन दिएका वामदेव फर्किएर गएनन् । त्यही प्युठानको विकासको रोडप्याम अब आफैँले पुरा गर्ने  प्रतिवाद्ता सहित मैदानमा उत्रिएका  सूर्य थापा गठबन्धनकी उम्मेदवार पौडेललाई भारी पर्ने देखिएको छ ।

    स्थानीय तहमा गठबन्धनको अंकगणित छाड्ने हो भने प्युठानमा थापा सहज अवस्थामा देखिएका छन् । महामन्त्री सिंहकी पत्नी भएकै कारण पटक पटक टिकट पाउने र त्यसलाई सधैँ किन प्यूठानी जनताले अनुमोदन गर्ने, आफुलाई बामपन्थी भन्ने अनि राष्ट्रिय राजनीतिमा गैरवामपन्थी शक्तिसित मिल्ने लगायतका प्रश्नको सामना उनले ठाउँ ठाउँमा आफ्नै पार्टी कार्यकर्ताबाट गर्नुपर्नेको छ ।

    रोचक त के छ भने प्यूठानमा मोहनविक्रम सिंहको साथमा उनका छोरी ज्वाइँ समेत छैनन् । उनीहरू एमाले प्रवेश गरीसकेका छन्।

    जिल्ला तहका नेताहरू अर्जुन विक, मोहन रोका लगायत पनि एमालेमा गइसकेका छन्। सिंहका भाइ पर्ने सुरेन्द्र जीसी, बहिनी अजिता सिंह ढकाल, ज्वाइँ योगेन्द्र ढकाल एमाले प्रवेश गरेका छन्।

    कांग्रेस नेता डा. गोविन्दराज पोखरेलले पौडेललाई भोट नदिने सार्वजनिक घोषणा गरेका छन् । उनी चुनावी प्रचारमा पनि गएका छैनन् । डा. पोखरेल २०७४ सालको निर्वाचनका पौडेलसँग पराजित भएका थिए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पोखरेल कांग्रेसका केन्द्रीय सदस्य समेत हुन्। उनी जिल्लामा प्रभावशाली र भबिष्य भएका नेता मानिन्छन् ।

    डा. पोखरेललाई टिकट नदिएकोमा कांग्रेस भित्र ठुलो असन्तुष्टि छ। त्यस्तै वरिपरीका जिल्लाले विकासमा फड्को मार्दा प्युठान जनमोर्चाकै कारण बिकासमा पछाडि परेको लगायत जनतामा बढेको आक्रोशका कारणले एमाले उम्मेदवार थापा भने जित्नेमा  विश्वस्त छन् ।

    सांसदसँग विकासका गर्नका लागि खर्च गर्ने पैसा नहुने र जनमोर्चा सरकारमै नजाने नीति राख्ने भएकाले विकासमा झन् पछाडि फर्किने एमालेको आरोप जनतासम्म नै स्थापित बनेको छ । ‘कहिले एमाले दाइ त कहिले कांग्रेस भाइको हात समातेर १० वर्ष सांसद बन्नुभयो तर ६४ वडामा अहिलेसम्म पुग्नुभएको छैन । कोरोनाकालमा मास्कसमेत पठाउनुभएन । २० महिना म सल्लाहकार हुँदा एकचोटि पनि प्रधानमन्त्रीलाई भेट्न आउनु भएन, अहिले आएर ‘दुर्गा पौडेलले गठबन्धनके बलमा जित्छु भन्नु जुरेलीको कथा जस्तो भएको थापाको भनाइ छ, ।’

    प्यूठानमा एमालेले कुल ३९ हजार ८७७ मत प्राप्त गरेको छ । जिल्लाका २० वटा वडा जितेको नेपाली कांग्रेसले २१ हजार २२ मत पाएको छ। १० वटा वडा जितेको माओवादी केन्द्रले १५ हजार ७४६ मत र १० वटै वडा जितेको राष्ट्रिय जनमोर्चाले १३ हजार ८५४ मत प्राप्त गरेको छ ।

    प्युठानजस्तै जनमोर्चाले बागलुङ क्षेत्र नम्बर १ मा आधार क्षेत्र जोगाउन सकस छ । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीसँग एमाले युवा नेता डा. सूर्य  पाठक मैदानमा छन् । संसदीय यात्रामा यी दुवै नेता नयाँ भने होइनन् । यो चुनाव जितेमा केसी चौथोपटक सांसद बन्नेछन भने पाठक दोस्रोपटक । विसं २०५६ र २०६४ को चुनावमा बागलुङ–२ बाट प्रत्यक्ष निर्वाचित केसी विसं २०७० को दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फबाट सांसद भएका थिए ।

    गत स्थानीय चुनावका उम्मेदवारले पाएको मतभारलाई आधार मान्दा गठबन्धनको मत बढी छ । तर, गठबन्धनमा आबद्ध दललाई पनि आफ्ना मतदाता जोगाउने र चुनावी तालमेलको कागजी सम्झौतालाई मतमा परिणत गर्नुपर्ने चुनौती उत्तिकै छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो कार्यकाल प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री बनाएर सरकारमा पुगे पनि केसी पहिलोपटक कांग्रेससँग नजिकिएका छन् । केन्द्रमा गठबन्धनले केसीलाई टिकट थमाए पनि जिल्लामा सबैभन्दा ठुलो असन्तुष्टि कांग्रेस भित्र छ । विगतका प्राय: सबै निर्वाचनमा जनमोर्चाले नेपाली काङ्ग्रेसका कार्यकर्तामाथि साङ्घातिक हमला गर्नेदेखि मतदानबाट समेत बन्चित गराउदै आएकोले दुई पार्टीको भावनात्मक सम्बन्ध जिल्लामा अहिलेसम्म स्थापित हुन् सकेको छैन।

    अर्कोतिर स्वयम् केसीको पार्टी भित्र दक्षिणपन्थी शक्ति कांग्रेससंग साठंगाठं गरेको देखि गण्डकी प्रदेशमा वामपन्थी सरकार ढालेको आरोप उनीमाथि छ । अझै पार्टीको बिद्रोही समुहले त बिगत देखिको एकतालाई निरन्तरता दिँदै एमालेको चिन्हमा मतदान गर्न आह्वान गरीसकेको छ।

    राजनीतिमा युवा पुस्ताको माग भइरहेका बेला ८० वर्षीय केसीलाई मतदाताले कति विश्वास गर्छन् त्यो हेर्न बाँकी छ । केसी भने गठबन्धनको मत बढी भएकाले आफुले स्वतः चुनाव जित्ने दाबी गर्छन् ।

    उता ७४ को चुनाव विजेता डा. पाठक पाँच वर्षमा संसदमा राम्रो पर्फमेन्स गर्ने नेता मानिन्छन् । विकासमा पनि उनको कार्यकालमा ठूला साना गरी सयौं योजना जिल्ला भित्रिएका छन् । पाठकले विकास निर्माणका सवालमा अधुरा कामहरु सम्पन्न गर्नका लागि पार्टीले जित्नुपर्ने दाबी गर्छन । एमाले नभए पूर्व योजना पूरा नहुन सक्ने भएकाले आफू पुनः जनताकहाँ मत माग्न आएको उनले बताउदै आएका छन् । कोरोनाका बेला बागलुङ अस्पतालमा आईसीयू स्थापना गर्नेदेखि विकास निर्माणका काममा पार्टीले पर्याप्त काम गरेको उनको भनाइ छ ।

    यसरी दुई जिल्लामा जनमोर्चासँको प्रतिस्पर्धामा जनमोर्चाको गिलास फुटाएर सुर्य उदाउँलान वा दुवै ठाँउमा सुर्य अस्ताएर गिलास भरिएर आउला  त्यो हेर्न भने मङ्सिर चार कुर्नुपर्ने हुन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend