logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • मेरो प्रतिस्पर्धा दलसँग हो, स्वतन्त्रसँग होइन : पम्फा भुसाल

    मेरो प्रतिस्पर्धा दलसँग हो, स्वतन्त्रसँग होइन : पम्फा भुसाल

    7.8K
    Shares
    मेरो प्रतिस्पर्धा दलसँग हो, स्वतन्त्रसँग होइन : पम्फा भुसाल

    अन्तर्वार्ता

    काठमाडौं ।  यतिबेला निर्वाचनको अन्तिम तयारीमा सरकार उम्मेदवार, मतदाता, निर्वाचन आयोग सबै जुटिरहेका छन् । राजनैतिक दलहरु मतदाताहरुको घरदैलोमा पुगिरहेका छन् । राजनैतिक दलहरु गठबन्धन बनाएर निर्वाचनमा होमिरहेका छन् । निर्वाचनको दिन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरु मतदाताको घरदैलोमा भोट माग्न ब्यस्त छन् । यसैबीच न्युज एजेन्सी नेपालले उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालसँगगरेको कुराकानी :

    चुनाव आउनै लागेको यो अन्तिम घडीमा पार्टीले प्रचारप्रसारको काम कसरी गरिरहेको छ ? तपाई आफुले कसरी प्रचारप्रसारको काम गरिरहनु भएको छ ?

    निर्वाचन अलि बढी उम्मेदवार केन्द्रित भएर हुन्छ । मैले बुझ्न त अन्त पनि बुझेको छु । साथीहरु सबैतिर प्रचारप्रसारको अन्तिम चरणमा पुग्नुभएको छ जनताको घरदैलो । आफ्नो एजेण्डाहरु जनतालाई स्पष्ट पार्ने । आफ्नो ठाउँका विकास निर्माणका प्रस्तावहरु राख्ने र जनताको अभिमत लिने कुरामा देशभर लाग्नुभएको छ । म यतिबेला आफूचाहीँ आफ्नै क्षेत्रमा केन्द्रित छु । धेरैतिर मैले ध्यान दिन सकिन । १५ दिनको प्रचारप्रसारको समय छ निर्वाचन आयोगले दिएको । १४ दिन सकियो । त्यसैले म आफ्नोमा बढी केन्द्रित छु । ठूलो क्षेत्र समय कम हुँदो रहेछ । अहिले निर्वाचन आयोगले सिमित गराइदिएको छ आचारसंहीता लागू गरेर । अधिकांश जनताको घरदैलो पुगेका छौँ । भेला, बैठकहरु, टोल सुधारका महिला समूहका, युवा क्लवहरुका छलफल, बैठक, अन्तरक्रिया उहाँहरुको आवश्यकता, समस्या सुन्ने कुरा पनि गरेका छौँ । मुल प्रचारको पाटो भनेको घरदैलो हो । मैले २० वटा वडा सकेँ । भोलि निर्वाचन प्रचारप्रसारको अन्तिम दिन दुईवटा वडा सकिन्छ । अर्को हामीले घोषणापत्र बनाएको छ । जनतालाई त्यो पनि दिन्छौँ । त्यसपछि सामान्य आफ्नो सामाजिक नेटवर्क चलाउने । यत्ति हो प्रचारको ।

    गठबन्धन बनाएर निर्वाचनमा जानुभएको छ, माओवादीले खासगरी काँग्रेसलाई लगाउने गरेको आरोप छ की, आफूले माओवादीको भोट लिएर माओवादीलाई चाहीँ भोट हालेन, के यसपटक नेपाली काँग्रेसको सबै मत माओवादीलाई आउने अवस्था छ ?

    हाम्रो आउने अपेक्षा छ । किनकी यो समयको आवश्यकताले, देशको आवश्यकताले, जनताको आवश्यकताले बनेको गठबन्धन हो । प्रतिगमन र प्रतिक्रान्तिकारी प्रवृत्तिलाई पराजित गर्नका निम्ति बनेको यो गठबन्धन हो । त्यसैले गठबन्धनको औचित्यता, आवश्यकता, त्यसको मर्मलाई सबै पार्टीले बुझ्नुभएको छ । नेपाली काँग्रेसका साथीहरुले पनि बुझ्नुभएको छ । त्यसैले सक्रिय ढंगले लाग्नुभएको छ । मेरो क्षेत्रको अनुभव गर्दाखेरी सबै गठबन्धनको पक्षमा कुनै न कुनै ढंगले खडा हुनुभएको छ ।

    गठबन्धनका कारण मत हाल्न अफ्ठ्यारो हुने हो कि भन्ने अवस्था छ, प्रत्यक्षमा तपाईहरुको उम्मेदवार नभएको ठाउँमा समानुपातिकमा पनि तपाईहरुलाई मत आउनसक्छ त ? मतदाता शिक्षा के–कसरी अगाडी बढाइरहनुभएको छ ?

    हाम्रो समानुपातिकबाट उठेका उम्मेदवारहरु पनि घरदैलोमा जानुभएको छ । उम्मेदवार अथवा टिम नै बनाएर खटाउने भन्ने पार्टीको नीति हो । मेरो क्षेत्रमा चाहीँ उम्मेदवार नै हुनुहुन्छ । प्रदेश र संघकै लागि पनि । त्यसकारणले उहाँहरु पनि कहिले हामीसँग सँगै र कहिले छुट्टै प्रकारले घरदैलोमा पनि हुनुहुन्छ । पार्टीले बुझाउन सक्नुपर्‍यो प्रत्यक्ष गठबन्धनलाई, समानुपातिक चाहीँ आफ्नो पार्टीलाई भनेर माग्ने कार्यकर्ताको, समानुपातिकका उम्मेदवारहरुको हातमा बढी भर पर्ने कुरा हो ।

    शहरी इलाकामा समग्र पार्टीहरुप्रति वितृष्णा बढेको गत स्थानीय तह निर्वाचनले पनि स्पष्ट देखायो, अहिलेको निर्वाचनमा पनि साना पार्टीहरु र स्वतन्त्र उम्मेदवारहरुको धेरै उम्मेदवारी परेको छ, यसलाई कसरी लिनुभएको छ ?

    उठ्न पाइयो । हामीले र हाम्रा अग्रजहरुले थालेको, हाम्रो जीवनकालमा हामीले सम्पन्न गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा जसले पनि मैदानमा हिँड्न, डुल्न, खेल्न पाउने कुरा भयो । त्यही अन्तर्गत संविधानले दिएको छ । कानूनले दिएको छ । कोही पनि उठ्न सक्नुहुन्छ । तर हाम्रो देशको राजनीति चाहीँ दलीय प्रणाली हो । राजनीतिक दलका प्रतिनिधि जनतामा जाने र अनुमोदित भएर आउने । बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष । १३८ सिट ल्याउनेले मात्रै सरकार बनाउन सक्छ । १३८ भन्दा बढी ल्याएकाले पनि मन्त्री बनाउने २५ जना हो । त्यसैले रहर गरेर जो पनि उठ्नसक्छ । निर्णायक चाहीँ कहिल्यै पनि हुन्न स्वतन्त्र ।

    त्यसोभए दलहरुका लागि स्वतन्त्र उम्मेदवार चुनौती होइनन् ?

    कोही उम्मेदवारका हकमा कोही काहीँ हुनसक्छ । भोट एकातिरको काटेर सन्तुलनमा अलि तलमाथि गर्न त सक्ने हुन्छ । तर आफैँ १३८ सिट ल्याउने अनि सरकार बनाउने स्थितिमा नेपालमा चाहीँ अहिलेको अवस्थामा कोही स्वतन्त्र पुग्ने हाम्रो धरातल बनेको छैन । दलीय राजनीति हाम्रो यति बलियो छ । जनताको घरदैलोसम्म हाम्रो संरचना छ । सबै राजनीतिक दलका केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा, इकाइसम्म पनि तल संरचना भएको देशमा र पार्टी प्रणाली भएका कारणले जनताले पनि पार्टी हेरेर दिन्छन् । कुन पार्टीले जित्छ अनि कसले सरकार बनाउँछ भन्ने सम्भावना हेरेर जनताले भोट दिन्छन् ।

    तपाईको निर्वाचन क्षेत्रको कुरा गर्ने हो भनेपनि तपाईसहित १३ जना विभिन्न पार्टीका उम्मेदवार हुनुहुन्छ, ७ जना त स्वतन्त्र उम्मेदवार छन्, युवाहरु धेरै छन्, तपाईलाई नै मत किन दिने ?

    मेरो दुई कार्यकाल हेरेर उहाँहरुले दिन सक्नुहुन्छ । म त काम गरेर जनताका आँखामा टेस्टेड छु । गर्नसक्ने मान्छे भनेर । गर्दै नगरेका मान्छेलाई के हेरेर दिने ? न हिजो राजनीतिक परिवर्तनको आन्दोलनमा उहाँहरुको कुनै सकारात्मक भुमिका छ । कुनै एक दिन खर्च गरेको सायद इतिहास छैन । अलिकति परिवर्तनका लागि पसिना खर्च गरेको पनि इतिहास थाहा छैन । अहिले मैले गर्छु, म उठेको छु मैले भोट पाएँ भने म मन्त्री हुन्छु भन्दै हिँड्ने राजनीतिक खेलाडीलाई जनताले चिन्दैनन् भन्ने कुरै छैन ।

    मेरो क्षेत्र त असाध्यै सचेत मान्छेहरुको क्षेत्र हो । कति सचेत हो भने ०४५-०४६ को आन्दोलन  हुँदा पाटनबासि तिनै जनता हुन् जसले पाटनलाई पञ्चायतमुक्त जिल्ला घोषणा गरिसकेका थिए । ०६२-०६३ को आन्दोलन थियो । राजनीतिक दलहरुले गणतन्त्रको निर्णय नगर्दै ललितपुरका जनताले हाम्रो जिल्ला अब राजतन्त्रमुक्त गणतन्त्रको जिल्ला भनेर घोषणा गर्ने जिल्ला हो । उहाँहरुले राजनीतिक परिवर्तनमा खेलेको व्यक्तिको भुमिका पनि हेर्नुहुन्छ । अनि उहाँहरुको मतले सरकार बन्ने र सरकार बन्दाखेरी मात्रै बल्ल आफ्ना एजेण्डाहरु त्यो सरकारको कार्ययोजनामा पर्छन् भन्ने कुरा बडो राम्रोसँग बुझ्नुभएको छ । त्यसैले एउटा व्यक्ति असाध्यै राम्रो पनि हुनसक्छ । तर एउटा व्यक्तिले केही पनि गर्न सक्दैन ।

    तपाईलाई साना दल वा स्वतन्त्र कसैको पनि चुनौती छैन ?

    छैन । मेरो प्रतिष्पर्धा दलसित नै हो फेरि ।

    याँ पुस्ताहरु आक्रामक रुपमा राजनीतिमा आइरहेको बेलामा तपाईको पार्टीमा पुस्तान्तरण हुन नसकेको हो ?

    होइन । हाम्रोमा युवा पनि हुनुहुन्छ । मध्यम खालका नेताहरु पनि हुनुहुन्छ । पहिलो तहका नेताहरु पनि हुनुहुन्छ । त्यो त कस्तो हो भने राजनीतिमा आउने भनेको उमेर पनि हो, एकदम युवाहरु आउनुपर्छ । तर एउटा भिजन, एउटा विचार, एउटा चिन्तनसहित आउनुपर्छ । समग्र राष्ट्र हाँक्ने योजनासहित आउनुपर्‍यो । हाम्रो पार्टीमा कोही वडा सदस्य, वडा अध्यक्ष, पालिका प्रमुख, प्रदेश र संघ हुँदै अनुभव हाँसिल गरेर परिपक्व भएका साथीहरु हुनुहुन्छ । युवाहरु पनि हुनुहुन्छ । मध्यमखालको पनि हुनुहुन्छ । अलि बुढापाका मान्छेहरु पनि हुनुहुन्छ । मलाई लाग्छ, कुनै समाज, दल, राज्य भनेको यो तिनै पुस्ताहरुको समन्वय र सहकार्यबाट अगाडि बढ्छ । युवाहरुको जोश हुन्छ । अलि पुरानाहरुको चाहीँ अनुभव हुन्छ । अनुभव र जोशको सही समायोजन गर्दा कुनैपनि चिजले चाहे राजनीति होस्, चाहे अर्थनीति होस्, सबै कुराले गति लिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend