logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • मध्यरातमा गच्छदार मतगणनास्थलमा पुग्दा तनाव

    मध्यरातमा गच्छदार मतगणनास्थलमा पुग्दा तनाव

    9.5K
    Shares

    सुनसरी-दुहवी रंगशालाको कवर्डहलमा जारी सुनसरी क्षेत्र नं. ३ को मतगणनामा बिहीबार राति कांग्रेस उम्मेदवार बिजयकुमार गच्छदार  मतगणना स्थलमा प्रवेश गर्न थालेपछि तनाब उत्पन्न भएको छ ।

    राती करिब ११ बजेको समयमा कबर्डहल सँगै रहेको सशस्त्र प्रहरीको बेस क्याम्पको पूर्वतर्फ लगाइएको बाँसको घेराबार बाट गच्छदार छिर्न खोजेपछि मतगणना स्थलमा रहेका स्थानीय तथा नेकपा एमालेका कार्यकर्ताले घेराबन्दी गर्दै निकाला गरेका छन् ।

    ‘मतगणना स्थलमा प्रवेश गर्ने सिधा बाटो हुँदा हुँदै गच्छदार अध्यारोमा २, ३ जना कार्यकर्ता सहित आएर सशस्त्रको बेस क्याम्पबाट छिर्न खोजे, हामीले तपाई उम्मेदवार हो सिधाबाटोबाट जानुस यसरी चोरबाटो बाट जान दिँदैनौं भनेर नाराबाजी गरेपछि हच्किए,’ मतगणना स्थलमा रहेका स्थानीय युवा सुरजजंग कट्वालले बताए । गच्छदारसँग अँध्यारोमा भेट गरेको विषयमा प्रतिकृया लिन मुख्य अधिकृत पौडेलसँग कुरा गर्न खोज्दा उनले फोन उठाएनन् ।

    गच्छदार चोर बाटोबाट प्रवेश गर्न लाग्दा प्रमुख निर्वाचन अधिकृत उमाकान्त पौडेल समेत आएपछि माहौल झनै विग्रिएको थियो । गच्छदार प्रवेश गर्न लाग्दा अधिकृत पौडेल मतगणना स्थल छाडेर सशस्त्र प्रहरीको बेस क्याम्प भित्र नै आएर कानेखुसी गरेका थिए । स्थानीयले केरकार गर्न थालेपछि गच्छदारसँग रहेकाले ‘पिसाब फेर्न गएको’ भन्दै फर्किएका थिए ।

    विगतका दुई वटा निर्वाचनमा पनि गच्छदारले ब्यापक धाँधली गरेको र यो पटक पनि गर्न सक्ने भएकाले नेकपा एमालेका कार्यकर्ता सँगै स्थानीय जनता पनि मतगणना स्थलमा निगरानी गर्दै बसेका छन् । ‘गच्छदारलाई हार स्वीकार गर्न गाह्रो भइरहेको छ । इटहरीका आफ्नै पकड एरियामा कम मत आएपछि उसको छटपटी बढेको छ । दुहवीको खानेपानी कार्यालयमा अड्डा जमाएर बस्दै धाँधली र जालझेलको सड्यन्त्र बुनिरहेको छ ।’ मतगणना स्थलमा रहेका एक एमालेका कार्यकर्ताले भने ।

    पछिल्लो मतगणना अनुसार सुनसरी क्षेत्र नं. ३ मा एमालेकी भगबती चौधरीले अग्रता बढाउँदै लगेकी छिन् । इटहरीका १० वटा वार्ड र इनरुवाको वडा नं. ७ चाँदबेलाको मत गणना भइसक्दा उनी गच्छदारसँग ४ हजार ३ सय बढी मतले अगाडी छिन् । गच्छदार दोश्रो स्थानमा छन् ।

    सञ्चारकर्मीलाई सूचना नै दिदैनन्

    सुनसरी क्षेत्र नं. ३ को मतगणनाको सूचना माग गर्न सकस छ । निर्वाचन अधिकृतको कार्यालयले अधिकृत राजेन्द्र कार्कीलाई प्रवक्ताका रुपमा राखेपनि उनको फोन उठ्दैन । प्रमुख अधिकृत उमाकान्त पौडेलले समेत सञ्चारकर्मीहरुलाई प्रतिक्रिया नदिने, मतगणना स्थलमा जान नदिने गरेपछि त्यहाँको विवरण लिनै मुस्किल छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend