काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार बनाउने रुची नभएको बताएका छन् । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएपछि निर्वाचन आयोगको प्रमाणपत्र लिन झापा पुगेका अध्यक्ष ओलीले प्रधानमन्त्रीका लागि रुचि नरहेको बताएका हुन् ।
‘मलाई ‘इन्ट्रेस्ट’ छैन,’ जिल्लास्थित नेताहरुसँग उनले भनेका थिए, ‘दलदलमा फँस्नु पनि छैन ।’ अध्यक्ष ओलीले चुनावी नतिजाले सांसद खरिदबिक्रीको सम्भावना औंल्याए । ‘बाख्राको मूल्य हात्तीको जस्तै महङ्गो हुने भयो ।’
निर्वाचन आयोगको प्रमाणपत्र थाप्न झापा पुगेका अध्यक्ष ओलीले चुनावको नतिजाले झन् विकृति बढ्ने सार्वजनिक टिप्पणी गरिसकेका छन् । कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा मुलुकलाई अगाडि बढाउन एमालेले अगुवाइ गर्ने भए पनि नेतृत्वका लागि अनिच्छा प्रकट गरेका हुन् ।
यता एमाले उपाध्यक्ष विष्णु पौडेलले एमालेले सरकारको नेतृत्वका लागि पहल गर्ने बताएका छन् । निर्वाचनबाट कसैको बहुमत नआएकाले पार्टीले बहुमत नल्याए पनि एमालेले सरकारको नेतृत्व गर्न पहल थाल्ने उनको भनाइ छ । एमालेले बहुमतको सरकार बनाउने जनमत नपाएपनि निस्क्रिय भएर नबस्ने बरु सशक्त भूमिका खेल्ने पौडेलको भनाइ थियो ।
०५२ सालपछि देखापरेको नेपालको संसदीय राजनीतिमा सांसद किनबेचको शृंखला लगभग ५० को दशकभरि नै रह्यो । त्यतिखेर ‘सुरा र सुन्दरी काण्ड’ र सांसदलाई थाइल्यान्ड घुमाउन पठाएको कुरा अहिले पनि राजनीतिको गलत अभ्यासका रूपमा परिचित छ ।
पजेरो संस्कृति पनि यसैको उपज थियो । त्यसपछि सरकार टिक्दै नटिक्ने, सांसद किनिने र बेचिने सिलसिला दोस्रो संविधानसभासम्म पनि थियो । सरकार बनाउन र गिराउनकै लागि २०६४ यता एउटै दल ११ पटकसम्म पनि विभाजित भएको छ ।
अध्यक्ष ओलीले प्रदेशको नेतृत्वका विषयमा आफूखुसी धारणा नराख्न नेताहरुलाई भनेका छन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री आकांक्षी हिक्मत कार्कीले अन्तिम नतिजा नआएकाले कुनै तयारी नगरेको बताएका छन् । एमाले समानुपातिक मतमा मधेस प्रदेश बाहेक सबैमा पहिलो छ । प्रदेश १ र लुम्बिनीमा पहिलो दल बनेको छ भने बाँकी प्रदेशमा पनि किङमेकर छ ।
प्रतिनिधि सभामा सत्ता गठबन्धनको बहुमत नपुग्ने निश्चित भएपछि अध्यक्ष ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग संवाद सुरु गरेका छन् । त्यसो त ओलीको साथ खोज्न प्रकाशमान सिंह आइतबार साँझ नै बालकोट पुगेका थिए ।