काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई परिवर्तनको अपेक्षा र आकांक्षा रहेकाले सोअनुसार यो सरकार र संसद्सामु जिम्मेवारी रहेको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा आज सोमबार दलको तर्फबाट सम्बोधन गदै अध्यक्ष ओलीले यस्ताे बताएका हुन् ।
प्रतिनिधिसभा समक्ष धेरै ठूलो जिम्मेवारी आइपरेको बताउँदै अध्यक्ष ओलीले देश विकासको बाटोमा अग्रसर हुनुपर्ने दिशातर्फ राजनीतिलाई अघि बढाउने अभिभारा संसद्समक्ष भएको बताए ।
“हाम्रा अगाडि राष्ट्रियताका जिम्मेवारी छन्, सांस्कृतिक पक्षको विकासका कुरा छन्, विविधताको मात्र कुरा गरेर हुँदैन, पुर्खाले स्थापित गरेको उन्नत सामाजिक सांस्कृतिक पक्षको प्रवर्धन गर्नुपर्नेछ” उनले भने, “सांस्कृतिक मूल्य मान्यता विर्सेमा समाज वास्तवमा समाज रहँदैन ।”
उनले देउवाले संसदको आयु र निर्वाचनका विषयमा भनेका भनाईले राजनीतिक बहसको बाटो खोलेको भन्दै त्यसका विषयमा अर्को बैठकमा जवाफ दिने बताए । उनले आजको बैठकमा भने शुभकामना मात्र दिने भएकाले त्यसबारे जवाफ नदिने बताए ।