काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन् । सोमवार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन् ।
उनले देशमा राजश्व उपयुक्त ढंगले उठ्न नसकेको र धेरै वर्षपछि राजश्व असुली माइनसमा गएको बताए । उनले अर्थतन्त्र ऋणात्मक हुनु गम्भीर विषय भएको बताए । उनले वैदेशिक मुद्राको सञ्चिति डरलाग्दो अवस्थामा रहेको, आयात गर्ने स्थिति नरहेको र निर्यात गर्ने वस्तुको उत्पादन घट्नुको साथै उद्योगहरु बन्द भइरहेको बताए । अध्यक्ष ओलीले अबका दिनमा अर्थतन्त्रको समस्या समाधानका लागि सकारात्मक समाधान खोज्नुपर्ने आवश्यक्ता रहेको बताए ।
उनले भने, ‘अर्थतन्त्र बढो गम्भीर अवस्थामा छ । धेरै गम्भीर अवस्थामा । राजश्व उपयुक्त ढंगले उठिरहेको छैन । धेरै वर्षपछि राजश्व असुली माइनसमा गएको छ । पहिला यस्तो भएको थिएन । ऋणात्मक भएको छ । यो गम्भीर कुरा हो । वैदेशिक मुद्राको सञ्चिति डरलाग्दो छ, आयात गर्ने स्थिति छैन । निर्यात गर्ने वस्तुको उत्पादन घटेको छ, उद्योगहरु बन्द भइरहेका छन् । यस्तो अवस्थामा महंगी बढ्दो छ, जनजीवन कष्टकर छ । निर्वाचनपछि प्रतिनिधि सभा यी सबै समस्याहरुको सकारात्मक समाधान खोज्नुपर्ने र यस्ता समस्याबाट रोकेर अघि बढ्नुपर्ने छ ।’
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलवार नयाँ सरकारको विश्वासको मत लिनेमा आफू ढुक्क रहेको बताए । उनले विगतका केही महिनामा देशले नयाँ परिवर्तन खोजेको र परिवर्तनको रुपमा नयाँ पार्टी र नयाँ सांसदहरुको उदय भएको बताए । उनले देशको उन्नतीको लागि सरकार बनाउने भएको भन्दै सबैले एकसाथ मिलेर काम गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेद अन्त्य गर्ने चुनौति आफूहरुका अघि रहेको भन्दै आन्दोलनका घाउमा मलमपट्टी गर्ने चुनौति छ, मुद्दा मामिलाका समस्या, शान्ति प्रक्रियाको समाधानका चुनौतिलाई समाधान गर्नुपर्ने बताए । उनले सांसद र नेताहरुको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि काम गर्ने समय नहुने भन्दै गोटी चाल्ने नभइ काम गर्ने बाटो समात्न आग्रह गरे । उनले सरकार बन्न नपाउँदै भत्काउने षड्यन्त्रमा नलाग्न आग्रह गर्दै आफ्नो समयको सही उपयोग गर्न आग्रह गरे ।
उनले भने, ‘विश्वासको मत लिनेमा म ढुक्क छु । चुनौति धेरै छन्, सहज परिस्थिति छैन । निर्वाचनपछि जसरी सरकार बन्यो, यो विगतका केही महिना हेर्दा नयाँ परिवर्तन देशले खोजेको थियो । यो सरकारको गठनबाट पनि देखिन्छ । नयाँ पार्टीको उदयको कुरा, नयाँ सांसदको उपस्थितिको कुरा छ । परिवर्तनको आकांक्षा, अपेक्षा जनताले गरेका थिए । परिवर्तनको चाहना जनताले राख्दा नयाँ पार्टीको उदय भयो । नयाँले उन्नती गर्ने खालको ट्रेन छ, यो परिवर्तनको कुरा हो । देशको उन्नतीको लागि सरकार बनाउने हो, व्यक्तिको मान, सम्मानका लागि होइन । प्रतिपक्ष दलका नेता मान्यज्युले अलिकति बहस ओपन गर्नुभएको छ । हाम्रा अघि धेरै चुनौतिहरु छन्, सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेद अन्त्य गर्ने चुनौति छ, आन्दोलनका घाउमा मलमपट्टी गर्ने चुनौति छ, मुद्दा मामिलाका समस्या, शान्ति प्रक्रियाको समाधानका चुनौति छन् । हामी लोकतान्त्रिक मूल्य मान्यतामा चलौँ । सांसद र नेताहरुको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि कहिले काम गर्ने ? गोटी चालाचाल होइन, काम गर्ने बाटो समातौँ । आज राष्ट्रिय एकताको आवश्यक्ता छ । एकतावद्ध भएर राष्ट्र निर्माणका काममा लागौँ न । म सबै दलहरुलाई आग्रह, आह्वान गर्न चाहन्छु । बन्न पाएको छैन, बिगार्ने खेलतिर लाग्यौँ भने समयको बर्बादी हुन्छ । रचनात्मक ढंले हाम्रो समय उपयोग गरौँ ।’
अध्यक्ष ओलीले यो सरकारले लोकतन्त्रको रक्षा, संवद्र्धन र सुदृढीकरणका लागि काम गर्ने बताए ।