बुटवल । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरूले आज दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाको एकदिनअगाडि नै दलहरूले दाबी पेश गर्न लागेका हुन् ।
प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिएका थिए । तर सत्तारूढ दलको सोमबार बसेको बैठकले आज मंगलबार नै बहुमत सांसदको हस्ताक्षरसहितको दाबी पेश गर्ने निर्णय गरेका छन् । प्रदेशको भागवण्डा अनुसार लुम्बिनीमा एमालेले मुख्यमन्त्री पाउने भएपछि उसैको अगुवाइमा सोमबार सबै दलको बैठक बसेको थियो ।
लुम्बिनीमा एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री लीला गिरी मुख्यमन्त्री बन्दैछन् । सोमबार दाङको देउखुरीमा एमाले संसदीय दलका नेता लीला गिरीसहित सत्तापक्षीय गठबन्धनका नेताहरूको बैठकले मंगलबार ४ बजे सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्ने सहमति गरेका हुन् ।
एमाले सांसद भूमिश्वर ढकालले मंगलबार कम्तीमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गर्ने सहमति भएको बताए । उनले भने, ‘मुख्यमन्त्रीमा लीला गिरीको नामसहित कम्तीमा ४९ सदस्यको दाबी पेश हुन्छ, त्यो संख्या बढ्नेछ, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसद बैठकमा उपस्थित नभए पनि सरकारलाई समर्थन गर्ने विषयमा उहाँहरू सकारात्मक नै हुनुहुन्छ ।’