logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रविधिको प्रयोगले मात्रै समृद्धिको लक्ष्य पूरा हुन्छ : सञ्चारमन्त्री शर्मा

    प्रविधिको प्रयोगले मात्रै समृद्धिको लक्ष्य पूरा हुन्छ : सञ्चारमन्त्री शर्मा

    1.4K
    Shares
    प्रविधिको प्रयोगले मात्रै समृद्धिको लक्ष्य पूरा हुन्छ : सञ्चारमन्त्री शर्मा

    काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो परिस्थितिमा सूचना÷प्रविधिको भरपुर उपयोगले मात्रै सरकारको समृद्धिको लक्ष्य पूरा हुने बताएकी छिन् ।

    सिंहदरबारमा आज पदभार ग्रहणपछि मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै सञ्चारमन्त्री शर्माले सूचना प्रविधिको प्रयोगमा पछि परियो भने सुशासन तथा विकास निर्माणलगायतमा अवरोध हुनसक्नेतर्फ विशेष ख्याल गर्न मातहतका निकायलाई सुझाव दिइन् ।

    मन्त्री शर्माले हरेक ठाउँमा प्रविधिको प्रयोगका सन्दर्भमा मन्त्रालयबाट गर्ने सहजीकरणमा कुनै कमी नहुने स्पष्ट पारिन् । राज्यका हरेक निकायमा सूचना प्रविधिको प्रयोग बढाउँदै सेवा प्रभावकारी बनाउनसके धेरै गुनासाहरु आफैँ समाधान भएर जाने मन्त्री शर्माको भनाइ थियो ।

    विगतमा सिंहदरबार भित्रैका मन्त्रालयमा फाइलहरु लैजान पनि महिनौँसम्म लाग्ने अवस्थाको अन्त्य गर्न पनि प्रविधिकै प्रयोग गर्नुपर्नेमा उनले जोड दिइन् । उनले यो मन्त्रालय आफ्नो लागि नौलो भएको र धेरै कुराहरु सिक्नुपर्ने आवश्यकता रहेको बताइन् । विगतमा भिन्न मन्त्रालयमा रहँदा मेहनतले नै महत्वपूर्ण काम भएको स्मरण गर्दै सञ्चारमन्त्री शर्माले भनिन्, ‘एक व्यक्ति आफैँ सफल र असफल हुन सक्दैन, त्यहाँ भित्रको समूह सक्षम तथा सहकार्य सकारात्मक भयो भने सबै सफल हुन्छ ।’ त्यसका लागि मन्त्रालयलगायत सबै निकायबाट साथ र सहयोग पाउने उनले विश्वास व्यक्त गरिन् ।

    उनले भनिन्, ‘मन्त्रालयसँग सम्बद्ध शाखा, उपशाखा, बोर्ड, निकाय, संस्थान, प्रतिष्ठान विभागभित्रका समस्या के हुन् ? मन्त्रालयले गर्नुपर्ने कुरा के हो ? राम्रा कुरा के छ ? गाँठो फुकाउनुपर्ने कुराहरु के छ ? सरकारका तर्फबाट के ध्यान दिनुपर्छ ? सबै विषयमा विशेष ढङ्गले सोच्नुपर्छ, त्यसमा मेरो ध्यान रहन्छ ।’

    उनले आमसञ्चार क्षेत्रका समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा पनि आफ्नो ध्यान रहेको बताइन् । मन्त्रालयका सबै विभाग, निकायबाट राम्रा कामका साथै त्यहाँ रहेका समस्या र चुनौतीहरु के हुन् ? गर्न नसकेका काम के हुन् ? के गर्दा काम सम्पन्न गर्न सकिन्छ ? भन्ने विषयलाई पनि समावेश गरी जानकारी गराउन मन्त्री शर्माले आग्रह गरिन् ।

    उनले सडक मार्गमासमेत सञ्चार सम्पर्क विच्छेद हुने भएकाले कम्तीमा पनि राजमार्गमा सञ्चार पहुँच सहज बनाउनुपर्नेमा जोड दिइन् । जहाँ सहज पहुँच पुगेको छ, त्यहाँको सेवा पनि प्रभावकारी नरहेकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले त्यसको समाधानका लागि पहल गर्न आग्रह गरिन् ।

    उक्त समारोहमा सञ्चार सचिव डा बैकुण्ठ अर्यालले सरकारी कार्यालयलाई सूचना प्रविधिमा आधारित बनाउने उद्देश्यस्वरुप एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको बताए । सोही निर्णय प्रक्रियाबाट आज मन्त्री शर्माले दूरसञ्चारलाई सबै क्षेत्रमा पहुँच सुनिश्चितता गर्न गरी विद्युतीय माध्यामबाट पहिलो निर्णय गरेको उनले जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend