जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका सबै निकायलाई तीन महिना भित्र भ्रष्टाचार मुक्त बनाउने दावी गरेका छन् । बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिवद्धता व्यक्त गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएको दिन नै आफूले भ्रष्टाचारालाई शुन्यमा पुर्याउने प्रतिवद्धता जनाएको र सोही कुरालाई प्राथमिकतामा राखेर काम गर्ने मुख्यमन्त्री यादवको भनाई थियो ।
उनले भ्रष्टाचार छानवीनका लागि आफूले ५ सदस्यीय छानवीन समिति गठन गरेको जानकारी गराए । मुख्यमन्त्री यादवले सबै दललाई साथमा लिएर आफू अघि बढने कार्ययोजनासमेत सार्वजनिक गरेका छन् । सरकारको नीति तथा कार्यक्रम समेत सबै दलसँग छलफल गरेर ल्याउने उनको भनाई थियो ।
मुख्यमन्त्री यादवले भने, ‘मेरो पहिलो प्राथमिकता भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो । अव मैले तीन महिना भित्र प्रदेश सरकारका जति कार्यालयहरु छन् । त्यसमा भ्रष्टाचार शुन्य गरिदिन्छु । र, सबै दललाई मिलाएर एकसाथ लग्नेछु । पाँच वर्ष प्रदेश सरकारबाट भएका कामहरुको छानवीन गर्नका निम्ति पाँच सदस्यीय एउटा छानवीन समिति गठन गरिदिएको छु । सरकारको नीति तथा कार्यक्रम र बजेट सबै दलसँग छलफल गरेर ल्याउनेछु । आवश्यक पर्यो भने पुरक बजेट पनि ल्याउन सकिन्छ ।’
त्यस अवसरमा उनले आवश्यक परे पुरक बजेट ल्याउन सकिने पनि बताए । बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन् ।
मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत पाएका हुन् । प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रस्तावको पक्षमा १०२ र विपक्षमा शून्य मत खसेको सदनलाई जानकारी दिए । १०५ सदस्यीय प्रदेशसभामा ३ जना सांसद अनुपस्थित रहे ।
यादवले प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरे भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएका छन् ।
अब मधेस प्रदेशसभामा प्रतिपक्षी दलको रुपमा कोही छैनन् । मुख्यमन्त्री यादवले कांग्रेससहित १० वटै दलको विश्वास जुटाउन सफल भएका छन् । प्रदेशसभामा हाल १०५ सांसद छन् । माओवादीका दुईजना सांसदको शपथ विवादको कारण रोकिएको छ ।