logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • दशरथचन्द नगरपालिकाद्वारा खेलाडीलाई भत्ता

    दशरथचन्द नगरपालिकाद्वारा खेलाडीलाई भत्ता

    2.5K
    Shares
    दशरथचन्द नगरपालिकाद्वारा खेलाडीलाई भत्ता

    बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले स्थानीय महिला खेलाडीलाई भत्ता दिँदै आएको छ । नगरपालिकामा जारी नगरस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई भत्ता दिइरहेको हो ।

    प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक खेलमा खाजा खर्चस्वरुप जनही एक सय ५० का दरले नगद दिने गरिएको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिए ।

    नगरपालिकाले पहिलोपटक खेलाडीको हौसला र सम्मानस्वरुप प्रत्येक खेलमा खाजास्वरुप भत्ताको व्यवस्था गरेको हो । नगरपालिकाले खाजा खर्चस्वरुप भत्ताको व्यवस्था गरेपछि खेलाडीहरु पनि खुसी भएका छन् ।

    खेलाडीको सम्मानस्वरुप भत्ता व्यवस्था गर्दा निकै खुसी लागेको दनपा–२ देहिमाडौँका खेलाडी पिङ्की बोहराले बताइन् । खाजा खर्चवापत दिँदै आएको भत्ताले आफूहरुलाई खेलमा हौसला मिलेको र उक्त रकमले आफूले चाहेअनुसारको खाजा खान पनि सहज भएको बोहराको भनाइ छ ।

    दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको प्रतियोगिता मङ्गलबार सम्पन्न हुँदैछ । शहीद दिवसका अवसरमा शहीद दशरथचन्दको जन्मनगरमा आयोजित प्रतियोगितामा सात टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

    यस्तै प्रतियोगितामा ‘ओमेन अफ द सिरिज’लाई तीन हजार, ‘बेष्ट बलर’ र ‘बेष्ट ब्याट्स ओमेन’लाई १५÷१५ सय, अनुशासित टोलीलाई तीन हजार र ‘ओमेन अफ म्याच’लाई ट्रफी प्रमाणपत्र दिइने जनाइएको छ ।

    समापन समारोहमा नगरपालिकाभित्रका अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिने जनाएको छ ।

    यसअघि नगरपालिकाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरेको थियो । खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको र महिलाहरुको क्रिकेट खेलतर्फ रुचि बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको नगरपालिकाका प्रमुख पुष्करराज जोशी लख्खाभाइले बताए ।

    निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको नगर खेलकुद विकास समिति अध्यक्ष चन्दको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend