logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • भूकम्प पीडितको खोलाको किनारमा बास

    भूकम्प पीडितको खोलाको किनारमा बास

    3.1K
    Shares
    भूकम्प पीडितको खोलाको किनारमा बास

    बाजुरा । गत मङ्गलवार हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रबिन्दु भएर दिउँसो २ः४३ बजे पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पले गर्दा एक जनाको मृत्यु भयो भने चार जना घाइते भए । जिल्लामा छ सय बढी घर पूर्ण र आंशिक रूपमा क्षति पुग्यो । त्यसमा पनि गौमुल गाउँपालिका–२ आगर, जुरेली, दहकोट र नरेडा बस्तीमा बढी क्षति भयो ।

    गौमुल गाउँपालिका–२ आगरमा रहेका दलित बस्तीका २५ परिवारलाई झनै बिजोग बनाएको स्थलगत रिपोर्टिङमा देखियो । न खाने गाँस न त बस्ने बास नै छ । घरभित्र भएका लत्ताकपडा र अन्नसमेत निकाल्न नसकिने गरी घर चिरा–चिरा परेका छन् । भिरालो जमिनमा बनाइएका घर एक फिटभन्दा बढी फाटेर गाउँवासी भित्र पस्न समेतका सकेका छैनन् ।

    यही माघ १० गते गएको भूकम्पका कारण गौमुल गाउँपालिकावासीको बिचल्ली छ ।सबै घर बस्न लायक नभएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए । उक्त गाउँपालिकामा एक हजार छ सय ५० परिवारमध्ये पाँच सय ७० परिवारका घर जोखिममा छ । पाँच सय ७० परिवारका बासिन्दा सबै विस्थापित भएको गाउँपालिकाले जनाएको छ ।
    उक्त गाउँपालिकाको वडा नं २ आगर, जुरेली, दहकोट र नरेडाका घर चर्किएर बस्न नमिल्ने भएपछि त्रिपाल र टनेलको पालमुनि गाउँवासीले रात कटाउने गरेका छन् । उनीहरूका घर बाहिरबाट हेर्दा राम्रो देखिए पनि भित्र भने धुजाधुजा भएको गीता रोकायाले बताउनुभयो । गौमुल–२ का जडेगाउँ, आगर, दहकोट, गताडी, गुम्फा काडा, जुरेली र रनेडालगायत बस्तीका बासिन्दा घरविहीन बनेका छन् । जुरेली, दहकोट, अगरलगायत ठाउँका जमिन पनि चिरा परेका छन् ।

    त्यहाँका सबै बासिन्दा पाल र तरकारीका लागि बनाइएका टनेलमा बस्दै आएका छन् । जडेगाउँमा १८, आगरगाउँमा २५, दहकोटका ३३, गताडी टोलका छ परिवार, गुम्फाकाँडा वस्तीका १८, जुरेलीका २५ र रनेडाका ४० घरपरिवार अहिले पालमा बस्दै आएको गौमुल गाउँपालिका–२ का वडा सदस्य प्रेम रोकायाले बताए । “तीन वर्ष पहिले बाढी आउँदा खेतीयोग्य जमिन बगायो, पछि यहाँ आएर बसेका थियौँ, अब भूकम्पले न बस्ने घर रह्यो, न खाने जमिन रह्यो विस्थापितजस्तै बनियो, यो पाल हालेको ठाउँ पनि अरुकै जमिन हो”, जुरेलीका भक्त रोकायाले भने ।

    भूकम्पले एक सदस्य गुमेकाले पीडामा रहेका भक्तका ६ परिवार पनि विस्थापितजस्तै छन् । जमुना रोकायाको भूकम्पमा परी मृत्यु भएको थियो । घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लाग्दा उनको मृत्यु भएको थियो । भूकम्पपीडित पालमुनि कठ्याङ्ग्रिदो चिसोमा रात बिताइरहेका छन् ।

    हिउँदको समय चिसोले पालमुनि बस्दा त्यहाँका बूढाबूढी, गर्भवती र सुत्केरी महिला र बालबालिकालाई समस्या भएको छ । भूकम्पपीडितले एक साता बितिसक्दा पनि राहत सामग्री नपाएको गुनासो गरेका छन् । उनीहरूलाई बिहान–बेलुकी हातमुख जोर्न धौधौ परेको छ । भूकम्पपीडित बिच्चलीमा हुँदा पनि सरकारको ध्यान नपुगेको स्थानीय धनलाल रोकायाले बताए ।

    भूकम्पबाट पीडित गौमुल गाउँपालिका–२ का वासिन्दालाई बालबालिका र वृद्ध वृद्धालाई बचाउन सकस परेको छ । भूकम्पले घरभित्र पस्न नसक्ने गरी चर्किएकाले चिसोबाट बालबालिका र वृद्ध वृद्धा बचाउन सकस परेको आँगरका भूकम्पपीडित सीता चदाराले बताए । भूकम्पले घरबारविहीन भएर खोलाको किनारमा त्रिपालको रात कटाउँदै आए पनि चिसोले कठ्याङ्ग्रिएर बालबालिका बचाउन समस्या भएको उनको गुनासो थियो । चिसोबाट सुत्केरी भएकी महिला र नवजात शिशुलाई समेत चिसोबाट बचाउन समस्या भएको स्थानीयवासी गीता रोकायाले बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend