logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • म्याग्दीबाट २० करोडको सुन्तला बिक्री

    म्याग्दीबाट २० करोडको सुन्तला बिक्री

    1.9K
    Shares
    म्याग्दीबाट २० करोडको सुन्तला बिक्री

    म्याग्दी । म्याग्दी जिल्लाबाट यस वर्ष रु २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख किरन सिग्देलले म्याग्दीका अधिकांश बगैँचाको सुन्तला निकासी भइसकेको जानकारी दिए ।

    “सरदर प्रतिकिलो रु ६० का दरले रु २० करोड मूल्यको सुन्तला निकासी भएको अनुमान गरेका छौँ”, उनले भने “अनुकूल मौसम र रोग किराको समस्या नभएको तथा फल दिने बोटसँगै उत्पादन पनि बढेको छ ।”

    जिल्लाको राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दाबढी सुन्तला बगैँचा छन् । सात सय छ हेक्टरमा सुन्तला जात फलफूलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । तीन सय ५५ हेक्टरभन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । कृषि ज्ञानकेन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए ।

    सुन्तला जोन कार्यालय म्याग्दीकी नायब प्राविधिक सहायक रुपा विकले प्रतिहेक्टर ११ मेट्रिक टनको अनुपातमा सुन्तला फलेको बताइन् । गत वर्ष दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुँदा रु १३ करोड भित्रिएको थियो । मङ्सिरको अन्तिम सातादेखि सुन्तला टिप्न सुरु भएको थियो ।

    व्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै पुगेका थिए । वर्षमा १० मुरी धान फल्ने खेतमा चार सय बिरुवा सुन्तला लगाएकी हुमेनले यसपाली बगैँचाबाटै रु सात लाख मूल्य बराबरको सुन्तला बिक्री भएको बताइन् । “छोरा विदेशिए, छोरिको बिहे भएपछि बाँझिएको खेतमा झाडी फाडेर कानको चार तोला सुन बेचेर खाल्डा खनी सुन्तलाका बिरुवा किनेर रोपेको थिए”, उनले भनिन्, “सुन बेचेर रोपेको सुन्तलाले सुनै फलाएको छ ।”

    सुन्तला टिपेर बजार पठाएपछि कृषक बगैँचा व्यवस्थापनको तयारीमा जुटेका छन् । मल हाल्ने, सिँचाइ गर्ने, मल्चिङ गर्ने, बोडोपेस्ट लगाउने र हाँगा काँटछाँट गर्ने काममा व्यस्त भएको कृषकले बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend