logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कर्णालीमा बढे लागुऔषध दुर्व्यसनी

    कर्णालीमा बढे लागुऔषध दुर्व्यसनी

    2K
    Shares
    कर्णालीमा बढे लागुऔषध दुर्व्यसनी

    सुर्खेत । कर्णालीमा लागुऔषध दुर्व्यसनी बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लागुऔषधको अवैध ओसापसार र बिक्री वितरण रोक्ने विशेष पहल गर्नुपर्नेमा सरोकारवालाको जोड छ । सबैको समन्वयमा नै अहिले बढिरहेको लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न सकिने उनीहरुको भनाइ छ ।

    नागरिक समाजका अगुवा पिताम्बर ढकाल विभिन्न नाकामा कडाइ गर्नाका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सुझाव दिन्छन् । उनी भन्छन्, ‘प्रदेश भित्रिने नाकामा कडाइ गर्नुपर्छ । कडाइ मात्र गरेर भएन, सचेतनाका कार्यक्रम आम नागरिकसम्म पुर्‍याउन सके मात्रै लागुऔषध न्यूनीकरण गर्न सकिन्छ ।’

    पछिल्लो समय कर्णालीमा लागुऔषध दुर्व्यसनी बढिरहेको बताउँदै यसको न्यूनीकरणमा अहिलेदेखि नै नलागे भयावह स्थिति आउन सक्ने ढकालले बताए । सरोकारवाला नारायण सुवेदीले पनि लागुऔषध दुर्व्यसन प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेको भन्दै दुर्व्यसनी बढ्नुका कारणको खोजी हुनुपर्ने सुझाव दिए ।

    गैरसरकारी संस्था र सरकारले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी नभएको उनी बताउँछन् । उनले भने, ‘लागुऔषध न्यूनीकरणका लागि कानुन कार्यान्वयनसँगै विभिन्न सरकारी तथा गैरसरकारी निकायले गरेका कार्यक्रमलाई प्रभावकारी बनाउन म सुझाव दिन्छु ।’

    प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिकको हालसम्म लागुऔषधको ओसारपसार, प्रयोग र बिक्री वितरणका ५५ मुद्दा प्रहरीमा दर्ता भएका छन् । उक्त घटनामा १०२ जनालाई प्रतिवादी बनाएर प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए । त्यसमा ९८ पुरुष र सात महिला संलग्न रहेका छन् ।

    गत आव २०७८/७९ मा ९५ मुद्दा प्रहरीमा दर्ता भएका थिए । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले १७२ जनालाई मुद्दा दायर गरी पक्राउ गरेको थियो । प्रहरी प्रवक्ता श्रेष्ठले बर्सेनि लागुऔषध दुर्व्यसन बढेको भन्दै नियन्त्रणका लागि सबै पक्षले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याए ।

    ‘विद्यालय तहदेखि नै लागुऔषध नियन्त्रणसम्बन्धी सचेतना फैलाउन आवश्यक छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘अब सबै पक्षले हातेमालो नगरे कर्णाली प्रदेशमा लागुऔषध दुर्व्यसनी दर भयावह हुन सक्छ । त्यसैले विद्यालय तहदेखि सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिन्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend