logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • नेपाली सेना जनताको भरोसाको केन्द्र : रक्षामन्त्री

    नेपाली सेना जनताको भरोसाको केन्द्र : रक्षामन्त्री

    4.8K
    Shares
    नेपाली सेना जनताको भरोसाको केन्द्र : रक्षामन्त्री

    काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताएका छन् ।

    सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा सम्बोधन गर्दै उनले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पदै आएको जिम्मेवारी अब्बल ढङ्गबाट पूरा गरी सेना जनताको भरोसाको केन्द्रका रूपमा रहेको उल्लेख गरे ।

    मन्त्री उप्रेतीले भने, ‘अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सेनाले ठूलो योगदान पुर्‍याएको छ । विश्व शान्तिका लागि जोखिम बहन गर्ने एवं साहस प्रदर्शन गर्ने फौजमा नेपाली सेना सधैँ अग्रपङ्क्तिमा छ ।’

    सेनाले दुर्गम क्षेत्रमा, राज्यका सबै विकट स्थानसम्म पुगेर सडक पूर्वाधार तयार गरी योगदान पुर्‍याउँदै आएको बताउँदै उनले काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग आयोजनाको भ्रमण गर्ने क्रममा भइरहेको प्रगति देख्दा आफू सन्तुष्ट भएको उल्लेख गरे ।

    रक्षा मन्त्रालयको नेतृत्व सम्हालेपछि उनले पहिलो पटक जङ्गी अड्डा पुगेर सेनाको बारेमा औपचारिक जानकारी लिएका हुन् । सो अवसरमा मन्त्री उप्रेतीसमक्ष सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका विविध गतिविधिबारे जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सेना सम्पूर्ण नेपालीको आफ्नै छोराछोरी सम्मिलित राष्ट्रकै उत्कृष्ट संस्था भएको बताएका थिए । उनले भने, ‘सेनाले विधिसम्मत ढङ्गले प्राप्त जिम्मेवारी समर्पित तवरले पूरा गर्दै देश र जनताको हितमा मरिमेट्दै आइरहेको छ । बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिवेशबाट सिर्जित चुनौती सम्बोधन, समाधान र न्यूनीकरण गर्न क्षमता अभिवृद्धि गर्न आवश्यक छ ।’

    रक्षा सचिव किरणराज शर्माले विपद् व्यवस्थापनलगायत सेनाको समग्र क्षमता विकास गर्दै आत्मनिर्भर बनाउँदै लैजाने विषयमा सरकारबाट जोड हुनुपर्ने आवश्यकता औँल्याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend