logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री रावलको पद धरापमा

    सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री रावलको पद धरापमा

    2.8K
    Shares
    सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री रावलको पद धरापमा

    सुदूरपश्चिम । सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित भएको छ। मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने भनिएको प्रदेशसभा बैठक स्थगित भएको छ। सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि आजको बैठक स्थगित गरिएको हो ।

    बुधबार ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो। तर, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि बिहिबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिएमा मुख्यमन्त्री रावलको पद धरापमा पर्ने निश्चित छ ।

    प्रदेशसभाका सचिव देवबहादुर बोगटीले आज अपराह्न बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिनुहुने कार्यसूची रहेको यसअघि बताएका थिए । प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले आज विश्वासको मत लिने कार्यक्रम थियो । त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ ।

    रावलको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले आजसम्म पूर्णता पाउन सकेको छैन । बिनाविभागीय मन्त्री खगराज भट्ट र सन्तोषी थापा शर्माको मन्त्रालय पनि तोकिएको छैन ।

    नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आजसम्म सरकारलाई विश्वासको मत दिने आधार तयार नभएको बताए । सो पार्टीले टीकापुर घटनाका बन्दी रिहाइको माग गर्दै आएको छ ।

    प्रदेशसभामा सत्तापक्षीय नेकपा एमालेका दश, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक दश, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सदस्य छन् । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सदस्य छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend