काठमाडौं । भैरहवा विमानस्थल सञ्चालनगरी पर्यटन क्षेत्रमा गरिएको ४० अर्ब लगानी सुरक्षित गर्न एमाले सांसद वासुदेव घिमिरेले माग गरेका छन् । शुक्रवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद घिमिरेले यस्तो बताएका हुन् ।
उनले विमानस्थल निर्माण भएको एक वर्ष पूरा हुँदा समेत पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको बताए । उनले समय अघि हप्ताको दुईवटा उडान भएपनि अहिले बन्द भएको बताए । उनले भैरहवा विमानस्थल सञ्चालनमा भारतले अनुमति नदिएकाले उडान हुन नसकेको सञ्चारमाध्यममा आएकाले त्यो सम्बन्धमा सम्बन्धित मन्त्रालयले संसदलाई स्पष्ट जानकारी दिन माग गरे ।
ृउनले भने,‘भैरहवामा अन्तराष्ट्रिय विमानस्थल निर्माण भएको एक वर्ष पुग्न लागेको छ । पूर्णरुपमा अहिलेसम्म सञ्चालनमा आउन सकेन । केही समय अघि हप्ताको दुई वटा उडान भएको थियो । अहिले बन्द भएको छ । मौसम खराबी हुँदा माघ ४ गते नेपाल एयरलाइन्सको विमान भारतको कोलकत्ता लगेर अवतरण गरिएको थियो । अहिले पत्रपत्रिकाहरुमा भारतले अनुमति नदिएको कारण रोकिएको भन्ने बुझिएको छ । यो के हो । सम्बन्धित मन्त्रालयले संसदमा स्पष्ट पार्न अनुरोध गर्दछु । निर्माणको क्रमसँगै निजी क्षेत्रले पर्यटन क्षेत्रमा ४० अर्ब बढी लगानी गरेको छ । लगानी संकटमा परेको अवस्था छ । संकटलाई तत्काल मुक्त गराउनको लागि सरकारसँग माग गर्न चाहन्छु ।’
उनले विमानस्थल निर्माणसँगै निजी क्षेत्रले पर्यटन क्षेत्रमा ४० अर्ब बढी लगानी संकटमा परेको बताए ।