काठमाडौं । राष्ट्रपति पदका दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेको छैन । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेबाट राष्ट्रपति उम्मेदवार बनेका सुवास नेम्वाङ र कांग्रेसबाट उम्मेवार बनेका रामचन्द्र पौडलेको विरुद्ध कुनै पनि उजुरी परेको छैन ।
फागुन २५ गते हुन लागेको राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका नेता पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ प्रतिस्पर्धामा छन् । उनीहरुले फाुगन १३ गते उम्मेदवारी दर्ता गराएका थिए ।
ती उम्मेदवारविरुद्ध दावी विरोध वा उजुरी दिने म्याद १४ गतेसम्म थियो । उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका १४ र १५ गते निर्धारण गरिएको थियो । तर उम्मेदवारहरुविरुद्ध कुनै पनि उजुरी परेन ।
निर्वाचन तालिका अनुसार फागुन १६ गते बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म उम्मेदवारहरुलाई नाम फिर्ता लिने समय निर्धारण गरिएको छ । सोही दिन ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ ।
त्यसपछि फागुन २५ गते राष्ट्रपति पदको निर्वाचन हुनेछ ।