काठमाडौं । नेकपा(एमाले)बाट राष्ट्रपतिका उम्मेदवार रहेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।
राष्ट्रपतिका उम्मेदवार नेम्वाङले बिहीवार पार्टीका नेताहरुसहित राप्रपाको केन्द्रिय कार्यालय धुम्बाराहीमा पुगेर आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आफूलाई मतदान गर्न राप्रपा अध्यक्ष लिङ्देनसमक्ष आग्रह गरेका हुन् ।
नेम्वाङको साथमा एमाले नेताहरु पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, रघुविर महासेठ, विद्या भट्टराई, गणेश पहाडी र ठाकुर गैरे लगायतका नेताहरुसहित त्यहाँ पुगेका थिए ।
भेटघाटमा राप्रपाको तर्फबाट अध्यक्ष लिङदेनसहित नेताहरु डा. प्रकाशचन्द्र लोहनी, रविन्द्र मिश्र, धवलसमशेर राणा लगायतको उपस्थिति थियो । भेटघाटपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले सौहार्दपूर्ण तरिकाले कुराकानी भएको बताए ।
उनले राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा फागुन २४ गते बस्ने केन्द्रिय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने जानकारी दिए ।
उनले भने – ‘उहाँहरुसँग सौहार्दपूर्ण तरिकाले कुराकानी भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीले के गर्ने भन्ने कुरा चाहीँ २४ गते केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्छ । त्यसले गरेको निर्णय अन्तिम हुन्छ ।’
भेटघाटपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा (एमाले) की सांसद विद्या भट्टराईले एमालेका उम्मेदवार नेम्वाङप्रति राप्रपा नेताहरुको सकारात्मक र सद्भावपूर्ण धारणा रहेको उल्लेख गरिन् । उनले एमालेसँग राप्रपाको विगतदेखि नै सहकार्य हुँदै आएको भन्दै आगामी दिनमा पनि सहकार्यको निरन्तरता हुने विश्वास व्यक्त गरिन् ।
राप्रपा नेताहरुले उम्मेदवार स्वयं आफूहरुको कार्यालयसम्म आएर मत मागेको प्रति खुशी व्यक्त गरेको सांसद भट्टराईको भनाई थियो ।