काठमाडौं । फुटबलका अञ्जन बिष्ट र भलिबलकी अरुणा शाही वर्ष २०७८ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेकोे प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८’ मा महिला र पुरुषबाट बिष्ट र शाही वर्ष खेलाडी घोषित भएका हुन् ।
मंगलवार काठमाडौंमा भएको कार्यक्रममा सो अवार्ड प्रदान गरिएको हो । अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पार्दै उक्त अवार्ड जितका हुन् । अञ्जनले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनलमा पुर्याउन मद्दत गरेका थिए । विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोटअन्तर्गत समूह बीमा चाइनिज ताइपेइबिरुद्ध उनले ऐतिहासिक गोल गरेका थिए । १३ औँ साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बङ्गलादेशबिरुद्ध उनले गोल गरेका थिए । यस्तै उनि एनएसलमा सर्वश्रेष्ठ फरवार्ड चुनिएका थिए । उनले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरे । पिपुल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी छन् । उषाले मनोनयनमा परेका फुटबलका अञ्जन बिष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा बिष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् ।
पिपल्स च्वाइस विधाको लागि ईसेवाको मतभार ५० प्रतिशत रहेको थियो । त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२.५ प्रतिशत रहेको थियो । नेपाली राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण सदस्य उषाले नेपालमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) नेपाली महिला भलिबल टोलीले रजत जित्दा सदस्य थिइन् । उनले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।
त्यस्तै वर्ष महिला खेलाडीको अवार्ड नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले जितिन् । वर्ष महिला खेलाडी घोषित भलिबलकी अरुणाले क्रिकेटका सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङ पुनम रावललाई पछि पादै उक्त अवार्ड हात पारेकी हुन् । अरुणाकै कप्तानी नेपालले बंगलादेश सम्पन्न एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनपिको उपाधि जितेको थियो । अरुणाले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरेकी छन् ।
यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको छ । लाइफटाइम एचिभमेन्ट अवार्डसँगै वन्तले नगद ५० हजार प्राप्त गरे ।
यस्तै युवा खेलाडीको अवार्ड मनिष डाँगी (फुटबल) ले जितेका छन् । अन्तर्राष्ट्रिय फुटबल पदार्पणमा एशियाकै हेभिवेट फुटबल राष्ट्र इराकबिरुद्ध उनले गरेको गोल उत्कृष्ट थियो । साफ फुटबल च्याम्पियन्सीपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सबिरुद्ध निर्णायक गोल गरेका थिए । ओलम्पियन पारा खेलाडी पलेशा गोवद्र्धन श्रेष्ठले पारा एथलिट अवार्ड प्रदान गरेका छन् । जापानमा भएको टोकियोमा भएको पारालिम्पिक्समा पनि पलेशाले दुई फाइट जितेका थिए । पारा ओलम्पिकमा दुई फाइट जित्ने पनि उनि पहिलो खेलाडी हुन्। पलेशाले एशियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जितेका थिए ।
बहराइनको मानमामा भएको एसिया युथ पारामा पलेशाले ५७ केजी मुनी क्याटागोरी ४४ मा स्वर्ण पदक जितेका थिए । एसियन युथ पारामा स्वर्ण पदक जित्ने उनि पहिलो नेपाली हुन् ।
यस्तै वर्षको उत्कृष्ट प्रशिक्षक राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरी घोषित भए । अलमुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक एएफसी एशियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो । उनकै प्रशिक्षणमा नेपाल एशिया कपको छनोटसम्म पुगेको थियो । माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाउन उनी टोलीका प्रमुख प्रशिक्षक थिए । वर्षको उत्कृष्ट प्रशिक्षक बन्ने क्रममा अलमुताइरीले भलिबलका जगदिशप्रसाद भट्ट, बक्सिङका दीपक महर्जन, पारा तेक्वान्दोका कविराज नेगी लामा र क्रिकेटका देव ह्वाटमोरलाई पछि पारे ।