काठमाडौं। नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जान जोसे डी ब्रान्ट बुधबार नेपाल आईपुगेका छन् । नेपाल भलिबल संघले बेल्जियमका जानलाई ६ महिनाको लागि मुख्य प्रशिक्षकमा हालै नियुक्त गरेको हो ।
नेपाली टोलीको प्रशिक्षण सम्हाल्न आएका जानलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, संघका महासचिव रोशन श्रेष्ठलगायत संघका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
प्रशिक्षण जानले पुरुष र महिला दुवै टोलीलाई प्रशिक्षण दिने संघले जनाएको छ । जानलाई सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप र एसियन गेम्सलाई मध्यनजर गरी प्रशिक्षक नियुक्त गरिएको हो ।
काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगिता आगामी जेठ ६ देखि १५ गतेसम्म आयोजना हुनेछ । यस्तै, चीनमा आयोजना हुने एसियन गेम्समा नेपालको महिला र पुरुष भलिबल टोलीले सहभागिता जनाउनेछ ।
६४ वर्षीय प्रशिक्षक जान निकै अनुभवी प्रशिक्षक हुन् । ६४ वर्षीय जान बेल्जियमका पूर्व राष्ट्रिय खेलाडी हुन् । उनले बेल्जियम र हंगेरीको राष्ट्रिय महिला टोलीको प्रशिक्षण समेत सम्हालीसकेका छन् । उनी अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीभी) को सहयोगमा नेपाली टोलीसँग आवद्ध भएका हुन्।