logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हरायाे

    आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हरायाे

    1.3K
    Shares
    आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हरायाे

    काठमाडौँ । घरेलु मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको  खेलमा नेपाल विजयी भएको छ । नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेकाे हाे ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ। जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो ।

    पीएनजीका लागि नोर्मान भानुवाले सर्वाधिक ६० रन बनाए । ओपनर टोनी उराले ५० रन बनाए । यस्तै कप्तान आसाद भालाले ४२, किपलिन डोरिगाले २६, रिले हेकुरेले २० र चार्लेस अमिनीले १४ रन जोड्न सफल भए ।

    बलिङमा नेपालका सन्दीप लामिछानेले चार विकेट लिए । दीपेन्द्र सिंह ऐरीले दुई तथा कुशल मल्लले एक विकेट लिए । यो जितसँगै नेपालले विश्वकप छनोट सम्भावना कायम राखेको छ ।

    यता, नेपालले पपुवा न्यूगिनीलाई जितका लागि २९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।  टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २९७ रनको योगफल बनाएको थियो । यो नेपालले एक दिवसीय खेलमा बनाएको हालसम्मकै उच्च स्कोर हो । नेपालले यसअघि २८७ रन बनाएको थियो।

    नेपालका लागि सुरुआती व्याट्सम्यान आशिफ शेखले सर्वाधिक ११० रनको योगदान दिएका थिए । उनले ११० बल खेल्दै दुई छक्का र १२ चौका प्रहार गरेका थिए । आशिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो एक दिवसीय शतक हो । आशिफ नेपालबाट एकदिवसीयमा शतक प्रहार गर्ने पाँचौ नम्बरका खेलाडी बने ।

    यसअघि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए ।

    त्यस्तै आसिफले एकदिवसीय आफ्नो करिअरको एक हजार रनसमेत पूरा गरेका छन् । एक हजार रन पूरा गर्ने नेपालका उनी दोस्रो खेलाडी बने । यसअअघि नेपालका रोहित पौडेलले एकदिवसीयमा एक हजार रन पूरा गरेका थिए ।

    आजको खेलमा सुरुआती अर्का व्याट्सम्यान कुशल भुर्तेलले ४५ रनको योगदान दिएका थिए । उनले ५६ बलमा ६ चौकासहित ४५ रन जोडे । आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरेका थिए ।

    रोहित पौडेल ३९ बलमा २ चौका र १ छक्कासहित ३० रनमा क्याच आउट भएका थिए । त्यस्तै ज्ञानेन्द्र मल्लले ११ रन जोडेका थिए भने दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भएका थिए । यसैगरी भिम सार्कीले ४४ रन, आरिफ शेखले १५, करण केसीले आठ, सन्दीप लामिछानेले सात, तथा सोमपाल कामीले चार रन जोडेका थिए ।

    बलिङतर्फ पपुवा न्यूगिनीका सेमो कमिया एक्लैले पाँच विकेट लिएका थिए भने राइली हेकुरेले तीन विकेट र एलियो नाओले एक विकेट लिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend