काठमाडौं । इटालियन क्लब इन्टर मिलानले २०११ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ।
१२ वर्षपछि अन्तिम ८ मा पुग्ने क्रममा मंगलबार राति पोर्चुगिज क्लब पोर्टोलाई दोस्रो लेगमा गोलरहित बराबरीमा रोक्दै समग्रमा १ – ० को जित निकाल्न सफल भयो। यसअघि पहिलो लेगमा १ – ० को अग्रता बनाएको थियो।
इन्टरले अघिल्लो चरणमा स्थान बनाएसँगै अब क्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो लाग्न बाँकी छ।
रियल म्याड्रिड र लिभरपुल तथा नेपोली र आइनट्राख्ट फ्रान्कफुटमध्येबाट दुई टोली क्वाटरफाइनलमा पुग्नेछन्।
यसअघि बेन्फिका, चेल्सी, बायर्न म्युनिख, एसी मिलान र म्यानचेस्टर सिटीले क्वाटरफाइनलमा स्थान बनाइसकेका छन।