logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गा र पाटेबाघका लागि प्रख्यात शुक्लाफाँटा

    विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गा र पाटेबाघका लागि प्रख्यात शुक्लाफाँटा

    1.8K
    Shares
    विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गा र पाटेबाघका लागि प्रख्यात शुक्लाफाँटा

    कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघको प्रमुख  बासस्थानका रूपमा प्रख्यात रहेको छ । पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ रहेका छन् ।

    विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि पनि प्रख्यात हुन थालेको छ । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थान लगायतले गर्दा बाघको सङ्ख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ ।

    निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले तराईका अन्य राष्ट्रिय निकुञ्जभन्दा शुक्लाफाँटामा धेरै बाघ रहेको बताए । ‘शुक्लाफाँटा बाघको राम्रो बासस्थान बनेको छ’, उनले भने, ‘यहाँ बाघको आहाराका प्रजाति धेरै हुनुले पनि बाघको सङ्ख्या बढेको हो ।’

    उनले शुक्लाफाँटाभित्र रहेको ठूलो घाँसेमैदान, तालतलैया र बाघका लागि प्रशस्त आहारा प्रजाति रहेको बताए । शुक्लाफाँटामा बाघको प्रमुख आहारा बाह्रसिङ्गा, रतुवा, चित्तल र बँदेल छन् । ‘निकुञ्जभित्र प्राकृतिक ताल र तीन ठूला नदी छन्’, सहायक संरक्षण अधिकृत ऐरले भने, ‘योबाहेक निकुञ्ज कार्यालयले १४ कृत्रिम तालसमेत बनाएको छ, त्यसले गर्दा वन्यजन्तुलाई प्यास मेटाउन सहज भएको छ ।’

    निकुञ्ज क्षेत्रमा चौधर नदी, स्याली नदी र महाकाली नदी रहेका छन् । चौधर नदी यहाँका वन्यजन्तुका लागि प्यास मेटाउने प्रमुख नदी रहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिको पनि संरक्षणले चोरीसिकारी शून्य भएका कारण पनि बाघको सङ्ख्यामा वृद्धि भएको हो ।

    सन् २०१३ को गणनाअनुसार १७ बाघ रहेको यस निकुञ्जमा २०२२ को गणनामा सङ्ख्या ३६ पुगेको हो । निकुञ्जको वरिपरि मानव बस्ती भए पनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जमा सन् २००८ देखि स्वचालित क्यामरा प्रविधिबाट बाघ गणना तथा अनुगमन भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend