हुम्ला। नेकपा एमालेले हाल सञ्चालनमा रहेको सङ्गठन सुदृढीकरणका लागि मिसन ग्रासरुट अभियानको पहिलो चरण सम्पन्न भएको छ । केन्द्रीय प्रतिनिधिको उपस्थितिमा सात वटै गाउँपालिका र ४३ वटा वडामा कार्यक्रम सञ्चालन भएपछि पहिलो चरण सम्पन्न भएको हो ।
एमालेको पहिलो चरणको कार्यक्रमअन्तर्गत गत सातवटै गाउँपालिका केन्द्र र जिल्लाका ४४ मध्य ४३ वडामा कार्यक्रम सञ्चालन भएपछि कार्यक्रमको पहिलो चरण पुरा भएको छ। नाम्खा गाउँपालिका– ६ को लिमीमा कुुनै पनि राजनीतिक पार्टीहरुको स्थानीय वडा स्तरको सङ्गठन नभएपछि एमाले सो वडामा नपुगेको हो ।
अभियानका लागि केन्द्रबाट खटिएका केन्द्रीय प्रतिनिधिहरुको उपस्थितिमा एमालेले सबै स्थानीय तहमा कार्यक्रम सञ्चालन गरेको हो । एमाले जिल्ला सचिवालय सदस्य एवं सिमकोट गाउँपालिकको पार्टीका इन्चार्ज कमल बोहराले अभियानको पहिलो चरणको कार्यक्रम सम्पन्न भएर दोस्रो चरणमा प्रवेश गरेको जानकारी दिए । उनका अनुुसार गाउँपालिका स्तर र वडा स्तरमा पार्टीका सङ्गठित सदस्यहरुसँग अन्तर्क्रिया सञ्चालन भएका छन् । जसमा पार्टी सङ्गठन सञ्चालनका क्रममा देखिएका र समस्या र ती समस्या समाधानका लागि चालिएका कदममाथि छलफल भएको थियो ।
यसमा केन्द्रीय प्रतिनिधिले गतिविधिका बारेमा टिपोट गर्ने कार्यसमेत गरेको छ । यसका लागि जिल्लाबाट जिम्मेवार पदाधिकारी खटिएका छन् । केन्द्रबाट भने दक्षिणी क्षेत्रका तीनवटा गाउँपालिका ताँजाकोट, अदानचुली र चङ्खेलीका लागि निरज आचार्य, खार्पुनाथ र सर्केगार्डका लागि डम्बरबहादुुर सिंह र सिमकोट र नाम्खा गाउँपालिकाका लागि लंकबहादुुर शाही केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका छन्। उनले यो अभियानबाट कार्यकर्ताको उपस्थिति र उत्साहबाट एमाले उत्साहित भएको बताए । अब एमालेले सातवटै गाउँपालिकामा दोस्रो चरणको अभियान सुरु गरेको र अन्तिममा तेस्रो चरणको कार्यक्रम सञ्चालन गर्नेछ । त्यसमा जिल्ला स्तरको सभा सञ्चालन गरिने एमाले हुम्लाले जनाएको छ ।