logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • उपराष्ट्रपतिमा निर्वाचित यादवको जीवनी

    उपराष्ट्रपतिमा निर्वाचित यादवको जीवनी

    1.1K
    Shares
    उपराष्ट्रपतिमा निर्वाचित यादवको जीवनी

    काठमाडौँ । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव निर्वाचित भएका हुन् ।

    यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवा देवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो । उनका दुई दाजुभाइ तथा तीन दिदीबहिनी छन् । साथै श्रीमती दुई छोरा र एक छोरी छन् ।

    उनि विसं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङ्घीय समाजवादी फोरम नेपालको महासचिव भएका थिए । यादव गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । उनि यसअघि २०७४ सालमा पनि बारा–२ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    मधेस आन्दोलनका क्रममा दरिलो पहिचान बनाउनुभएका उनि राजनीतिक जीवन अघि बाराको कलैयामा २३ वर्षसम्म शिक्षण पेशामा समर्पित थिए। बारा कलैयामा अवस्थित श्री पन्ना देवी कन्या माविमा उनि विज्ञान र गणित विषयको शिक्षक थिए ।

    भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा सङ्कायमा स्नातक अध्ययन गरेका यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो ।

    नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनि उच्च शिक्षा लिई भारतको सीतामढीबाट बिएससी अध्ययन गरी फर्किंदा नेपालमा २०४६ सालको आन्दोलन सुरु भइसकेको थियो । उक्त समयमा तराई मधेशका मुद्दामा नेपाल सद्भावना पार्टीले काम गरिरहेको विषय जानकारी पाएपछि उनि २०४७ सालमा सद्भावना पार्टीमा प्रवेश गरेका हुन् ।

    सो पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहको निधनपछि राजविराज महाधिवेशनमा नेपाल सदभावना पार्टी विभाजनको विरोधमा आनन्दी देवीको नेतृत्वमा पार्टी एकताका लागि आमरण अनसनमा बस्ने यादव पहिलो नेता हुन् ।

    राजनीतिका क्रममा उनको भेट उपेन्द्र यादवसँग भएपछि उनि २०५९ सालमा मधेशी जनाधिकार फोरममा आबद्ध भएका हुन् । त्यसपछि उनि २०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य भएका थिए भने विसं २०६५ मा उनि पार्टी महासचिव भए । यादव स्वच्छ तथा इमान्दार छविका नेता मानिन्छन् ।

    उनि विसं २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी ९राजपा० बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य भएका थिए । विसं २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री भएका उनि हाल जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेताको भूमिकामा समेत छन् ।

    पार्टी तथा सरकारको प्रतिनिधि भई उनले हालसम्म संयुक्त राज्य अमेरिका, पोल्याण्ड, चीन, संयुक्त अधिराज्य, बेल्जियम, युएई (संयुक्त अरब इमिरेट्स)लगायत देशको भ्रमण गरिसकेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend