काठमाडौं । नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत पहिलो खेलमा लाओसविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ । अनन्त तामाङको गोलमा नेपालले अग्रता लिएको हो ।
पहिलो हाफमा दुवै टोलीले विंगबाट आक्रमण बुन्ने प्रयास गरेका छन् । नेपालले पटक पटक विंगबाट पेनाल्टी क्षेत्र प्रवेश गरेपनि ओपन प्लेमा भने गोलरक्षकलाई समस्या दिन सकेको छैन । मिडफिल्डमा एरिक विष्ट र नविन लामा निकै व्यस्त देखिएका छन् । पुजन उपरकोटी भने रक्षात्मक मिडफिल्डमा संघर्ष गरिरहेका देखिन्छन् ।
डिफेन्समा डेब्यु गरिरहेका सनिश श्रेष्ठले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् । विकास खवास पनि लेफ्ट ब्याकको भूमिकामा राम्रो प्रदर्शन गरिरहेका छन् । अनन्त र रोहितको जोडी मध्य डिफेन्समा बलियो देखिएको छ ।
१८ औं मिनेटमा पुजन उपरकोटीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । २५ औं मिनेटमा एट भिंगखामले २५ यार्ड टाढाबाट गरेको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।
खेलको २९ औं मिनेटमा अनन्तले गोल गरे । एरिक विष्टको कर्नरमा अनन्तले हेडरमार्फत गोल गरे । एक गोलले पछि परेको लाओसले त्यसपछि आक्रमण बुनेपनि गोलरक्षक किरणलाई समस्या दिन सकेको छैन ।