logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    पुरानो थारु गाउँ सिंहपुरमा घरबास सञ्चालन गरिँदै

    पुरानो थारु गाउँ सिंहपुरमा घरबास सञ्चालन गरिँदै

    1.9K
    Shares
    पुरानो थारु गाउँ सिंहपुरमा घरबास सञ्चालन गरिँदै

    कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ स्थित सांस्कृति महत्व बोकेको थारु गाउँ सिंहपुरमा घरबास सञ्चालनको तयारी गरिएको छ । सिंहपुर सामुदायिक वनको सहयोगमा घरबास सञ्चालन गर्न लागेको हो ।

    थारु गाउँमा सञ्चालन हुने घरबासमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थारु संस्कृतिबारे जानकारी गराउन परम्परागत नृत्य देखाउने नृत्य टोली गठन गरिएको छ । नृत्य टोलीलाई प्रशिक्षित गर्ने काम पूरा भएको सामुदायिक वनका अध्यक्ष जोगराज चौधरीले बताए ।

    ‘पाहुनाको रुचिअनुसार परम्परागत परिकार बनाउने तालिम दिने काम गरेका छौँ’, उनले भने, ‘पाहुनालाई परम्परागत वेषभूषामा स्वागत सत्कार गर्नेबारे जानकारी दिने कार्य गरेका छौँ ।’ उनका अनुसार दुई वर्षअघि नै घरबास सञ्चालन गर्ने योजना भए पनि कोरोना महामारीका कारण अगाडि बढाउन सकिएको थिएन ।

    ‘घरबास सञ्चालनका लागि दर्ता गर्ने कार्य अगाडि बढाएका छौँ’, उनले भने । पहिलो चरणमा १० घरमा घरबास सञ्चालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । गहुँबाली भित्र्याउने काम गरिसकेपछि घरबास सञ्चालनका लागि सामुदायिक वनको सहयोगमा परम्परागत थारु घर निर्माण गरिने चौधरीले बताए।

    ‘सामुदायिक वनबाट जति सकिन्छ सहयोग गर्छौं’, उनले भने, ‘अपुग सहयोगका लागि दातृ निकायलाई गुहार्छौं, नगरपालिकाले रु दुई लाख दिने अश्वासन दिएको छ, त्यसले पुग्दैन थप बजेटका लागि प्रस्ताव गर्छौं ।’ घरबासमा आउने पाहुनालाई परम्परागत फेरिया, घोंगी, मुसाको चटनी, फुलौरी, अन्ती धानको भात, ढिक्रीलगायतका परिकार दिइने वडाध्यक्ष बाबुराम चौधरीले बताए ।

    ‘परम्परागत शैलीमै प्रस्तुत गरिने झुम्रा, लठवा, सखिया, राना थारु समुदायको थरिया नृत्य देखाउन नृत्य टोलीलाई प्रशिक्षित गर्ने गरेका छौँ’, पूर्ववडाध्यक्ष नत्थुराम चौधरीले भने, ‘पाहुनालाई सामुदायिक वनको जैविक विविधताबारे जानकारी दिन घुमाउने प्रबन्ध मिलाउने योजना बनाइएको छ ।’

    पाहुनालाई सामुदायिक वनको दृश्यावलोकन स्तम्भ, वनभोज स्थलमा पुर्‍याएर जीवजन्तु, चराचुरुङ्गी देखाउने र त्यसबारे जानकारी दिने कार्य गरिने उनले बताए। सिंहपुर गाउँलाई पुरानो थारु गाउँका रुपमा लिइने गरिन्छ । परम्परागत संस्कृति जगेर्ना गर्ने कार्यमा यस क्षेत्रका बुढापाकादेखि युवाले योगदान दिँदै आएका छन् । संरक्षणका हिसाबले सिंहपुर सामुदायिक वनलाई यस क्षेत्रकै नमुना वनका रुपमा लिइने गरिन्छ । सामुदायिक वनमा तीन सय ६५ घरधुरी आबद्ध छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend