काठमाडौं। १६औं संस्करण इन्डियन प्रमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले विजयी सुरुवात गरेको छ। खनउले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गर्यो।
जितका लागि १९४ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो।
दिल्लीका कप्तान डेविड वार्नरले ४८ बलमा ७ चौकासहित सर्वाधिक ५६ रनको अर्धशतीय इलिङ खेले। राईली रउसोले ३० तथा पृथ्वी शाले १२ रन बनाए। लखनउका लागि मार्क उडले ५ विकेट लिए। यस्तै, आवेस खान र रवि बिस्नोइले समान २–२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो।
लखनउका लागि ओपनर कायल मेयर्सले ३८ बलमा २ चौका र ७ छक्काको सहयोगमा ७३ रन बनाए। निकोस पुरनले २१ बलमा २ चौका र ३ छक्कासहित ३६ रन बनाउँदा कुर्नाल पाण्ड्याले १३ बलमा अविजित १५ रन बनाए।
दिल्लीका लागि खलिल अहमद र चेतन साकरियाले समान २/२ तथा अक्षर पटेल र कुलदिप यादवले समान १/१ विकेट लिए।
जितसँगै २ अंक बनाएको लखनउ शीर्ष स्थानमा रहेको छ। पराजित दिल्ली अंकविहीन हुँदै छैटौं स्थानमा छ।